
यमनमा पृथकतावादीले सरकारी भवन आफ्नो नियन्त्रणमा लिएका छन् । यमनको दक्षिणी शहर अदमा रहेका सरकारी भवन पृथकतावादीले कब्जामा लिएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
अदन शहरमा सरकारी सेना र पृथकतावादीबिच संघर्ष भइरहेको छ । राष्ट्रपति अब्दरब्बुह मंसूर हादीप्रति बफादार रहेका सेनाले पृथकतावादीसँग संघर्ष गरिरहेका छन् ।
प्रधानमन्त्री अहमद बिद दागेरले पृथकतावादीले सत्ता हत्याउन खोजेको आरोप लगाएका छन् । अदन शहरमा भइरहेको भिडन्तमा अहिलेसम्म १० जनाको ज्यान गएको पुष्टि भएको छ । अरु धेरै मानिस घाइते भएका छन् ।
राजधानी सना हुथी ब्रिदोहीको नियन्त्रणमा रहेकाले यमनको सरकार अहिले अदनमा अस्थायी रुपमा बसेको छ । तर त्यहाँ पनि पृथकतावादीले आक्रमण गरिरहेका छन् र सरकारी भवन कब्जामा लिन थालेका छन् ।
दुवै पक्षले आफ्ना सेनालाई तत्कालका लागि संघर्ष रोक्न भनेका छन् तर रोकिएको छैन । यमन सरकारले छिमेकी अरब राष्ट्रलाई हस्तक्षेप गरी अवस्था नियन्त्रणमा लिन आग्रह गरिसेको छ ।
लगातारको संघर्षका कारण यमनका लाखौँ मानिसको अवस्था निकै खराब रहेको छ । उनीहरुलाई तत्काल मानवीय सहायताको खाँचो रहेको छ । तर संघर्ष नरोकिँदा उनीहरुसम्म राहत सामग्री पुग्न सकेको छैन । अदनमा भएको पछिल्लो हिंसाले अवस्था झन खराब बनाएको छ ।
सन् १९९० मा दक्षिण र उत्तर यमनलाई मिलाएर यमन बनाइएको थियो । तर अहिले पनि दक्षिणी यमनमा पृथकतावादी भावना शान्त भएको छैन । अहिलेसम्म त पृथकतावादीले हुथी बिद्रोहीलाई साथ दिँदै आएका थिए ।
तर अहिले अवस्था फेरिँदै गएको जस्तो देखिन्छ । केही हप्ता पहिले पृथकतावादीले सरकारमाथि भ्रष्टाचार तथा मतभेदको आरोप लगाएका थिए ।
उनीहरुले प्रधानमन्त्री दागेरलाई हटाउन राष्ट्रपति हादीलाई केही दिनको समय दिएका थिए । त्यसयता तनाव बढ्दै गएको छ । आइतबार उनीहरुले दिएको समय सकिएसँगै अदनमा संघर्ष सुरु भएको हो ।