
म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होले जाल्टन इब्राहिमोविचले क्लब छोड्न चाहेमा नरोक्ने बताएका छन् । ३६ वर्षे स्वीडेनका पूर्व स्ट्राइकर एमएलएस क्लब एलए ग्यालेक्सी जाने तयारीमा रहेको खबर आएपछि मोरिन्होले यदि त्यस्तो हो भने क्लब बाधक नबन्ने बताए ।
उनले भने ‘यदि यो सत्य हो र उनी अर्कै क्लबमा भविष्य चाहन्छन् भने हामी त्यसका लागि बाधक बन्दैनौँ, बरु सहयोग नै गर्छौँ । तर जाल्टनले मसँग आफू रिकभर भएर टिमलाई सहयोग गर्न चाहेको बताएका छन् ।’
गएको अगस्टमा युनाइटेडसँग एक वर्षको नयाँ सम्झौता गरेका जाल्टन गएको नोभेम्बरमा घुँडाको गम्भीर चोटबाट रिकभर भएर मैदान फर्किएका थिए ।
तर उनी त्यसपछि ६ खेलमा मात्रै मैदानमा देखिए । डिसेम्बर २६ मा प्रिमियर लिगमा बर्नलीसँग २–२ को बराबरी भएको खेलपछि उनी मैदानमा देखिएका छैनन् ।
उनी चोटग्रस्त नरहेको तर फिट हुनका लागि कडा मेहनत गरिरहेको मोरिन्होले बताए । प्रिमियर लिग फुटबलले जाल्टनलाई खोजीरहेको पनि मोरिन्होको भनाई छ ।
केही दिनअघि जाल्टन एलए ग्यालेक्सी जान चाहेको खबर आएको थियो । तर एलए ग्यालेक्सीले भने अहिलेका लागि यो हल्ला मात्रै रहेको बताएको छ । जाल्टन सन् २०१६ को जुलाइमा युनाइटेडमा अनुबन्धित भएका हुन् ।