
काठमाडौं – काठमाडौं, नवलपरासी र डडेल्धुरामा भएका दुर्घटनामा तीनजनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ मिराटोलमा सोमबार बेलुका ८ बजे बा ३ ख ५८२१ नम्बरको मिनिट्रकले ठक्करदिँदा पैदल यात्री ४५ वर्षका नरसिंह नगरकोटीको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका नगरकोटीलाई नेपाल मेडिकल कलेज अत्तरखेमला प्रारम्भीक उपचारपछि थप उपचारका लागि ओम अस्पताल ल्याइएको थियो । उनको उपचारकै क्रममा राति ९ बजे ज्यान गएको प्रहरीले जनाएको छ ।
यस्तै नवलपरासीको कावासोती नगरपालिका–१६ कोटटाँडीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ भने एकजना घाइते भएका छन् ।
ना ५ ख ८६०५ नम्बरको ट्रकमा बा ८१ प ८१९४ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक कावासोती–१६ सातघरेका ३६ वर्षे नारायण खनालको ज्यान गएको हो ।
गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । घाइते भएका मोटरसाइकलको पछाडि बस्ने सोही ठाउँका सन्तोष खनालको चितवनको भरतपुरमा उपचार भइरहेको छ ।
यसैगरी डडेलधुरामा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने सातजना घाइते भएका छन् ।
से १ त ८९०८ नम्बरको ट्रयाक्टर सोमबार बेलुका पौने ८ बजे अमरगढी नगरपालिका–१ म दुर्घटना हुँदा अमरगढी–८ का ३३ वर्षे लालबहादुर दमाईको ज्यान गएको हो ।
ट्रयाक्टर सडक छेउको नालीमा पल्टिएर दुर्घटना भएको हो । घाइते भएका सातैजनाको उपक्षेत्रीय अस्पताल डडेलधुरामा उपचार भइरहेको छ ।
सम्बन्धित समाचारहरु…
पाँचथरमा जिप दुर्घटना : दुईजनाको मृत्यु, ६ घाइते