
अमेरिकामा यो वर्षको अन्त्यतिर हुने मध्यावधिक चुनावमा रुसले दखल दिन सक्ने अमेरिकी गुप्तचर निकाय सिआइएका निर्देशकले बताएका छन् ।
सिआइएका निर्देशक माइक पोम्पियोले रुसले आउँदो नोभेम्बरमा हुने मध्यावधिक चुनावमा हस्तक्षेप गर्न सक्ने बताएका हुन् ।
रुस युरोपका विभिन्न देश र अमेरिकाको सरकारलाई कमजोर बनाउने प्रयासमा रहँदै आएको र त्यसमा अहिले पनि कमि आएको देखिएकाले खतरा रहेको उनको भनाई छ ।
अमेरिकी गुप्तचर निकाय सिआइएले सन् २०१६ मा भएको राष्ट्रपति चुनावमा रुसले दखल दिएको मान्दै आएको छ । यस विषयमा अहिले विशेष समितिले छानविन गरिरहेको छ ।
यस्तो अवस्थामा रुसले नोभेम्बर ६ मा हुने मध्यावधिक चुनावलाई निशाना बनाउने सक्ने र त्यसका लागि अमेरिका चनाखो हुनु पर्ने उनले बताएका छन् ।
यस्तै उत्तर कोरियाले केही महिना भित्र अमेरिकामाथि परमाणु आक्रमण गर्न सक्ने क्षमता बनाउने पनि उनको भनाई छ ।
उनले पछिल्लो पटक डोनाल्ड ट्रम्प राष्ट्रपतिको पदका लागि अनुपयुक्त रहेको भन्ने कुरा बकवास रहेको पनि बताए । पोम्पियोले हरेक दिन बिहानै ट्रम्पलाई नयाँ जानकारी दिने गरेका छन् ।
सम्बन्धित समाचार…
अमेरिकी चुनावमा रुसी संलग्नता : अन्तर्वार्ताका लागि ट्रम्प तयार