
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सी पराजित भएको छ । घरेलु मैदानमै भएको खेलमा चेल्सी तुलनात्मक रुपमा केही कमजोर मानिएको बोर्नमाउथसँग ३–० ले पराजित भएको हो ।
बोर्नमाउथको जितमा कालम विल्सन, जुनियर स्टानिसलास र नाथन एकेले गोल गरे । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा चेल्सी दोस्रो हाफमा त्यो पनि १२ मिनेट भित्र तीन गोल खायो ।
५१ औँ मिनेटमा विल्सनको गोलबाट बोर्नमाउथले सुरुवाति अग्रता लियो । ६४ औँ मिनेटमा स्टानिस्लासले अग्रता दोब्बर पारे । त्यसको तीन मिनेटपछि एकेले गोल गर्दै टिमलाई ३–० को प्रभावशाली जित तर्फ लगे ।
त्यसपछि चेल्सीले खेलमा फर्किने प्रयास गरेर पनि सफल हुन सकेन । बोर्नमाउथको लिगका पछिल्ला सात खेलमा यो पहिलो जित हो भने चेल्सीको यो सिजन लिगमा दोस्रो पटक खराब हार हो ।
हारपछि चौथो स्थानमा झरेको चेल्सीको २५ खेलबाट ५० अंक छ । दशौँ स्थानमा उक्लिएको बोर्नमाउथको २८ अंक भएको छ ।