
काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले भारतीय विदेशमन्त्री सुषमा स्वराजको दुईदिने नेपाल भ्रमणको समय उपयुक्त नभएको बताएका छन्।
कोइरालाले नयाँ सरकार गठनको पूर्वसन्ध्यामा भारतीय विदेशमन्त्री स्वराजको भ्रमणको समय उचित नभएको बताएका हुन्।
गृहनगर विराटनगरस्थित कोइराला निवासमा बिहीबार प्रेस यूनियनले आयोजना गरेको भेटघाटका क्रमका उनले भने,’ मुलुक यतिबेला नयाँ सरकार बन्ने संघारमा छ । स्वराजको भ्रमणले जनतामा समेत आशंका उब्जाउन सक्छ।’
कोइरालाले भने छिट्टै हुने भनिएको वाम एकता भङ्ग भए त्यसको अपजस भारतलाई जान सक्ने भएकाले भारत पनि सचेत रहनु पर्ने उनको भनाई छ।
आन्तरिक राजनीतिक प्रसंगमा बोल्दै उनले वर्तमान कामचलाउ सरकारको निर्णयको अर्थ नरहेको बताएका छन्।
निर्वाचनमा पराजयपछि नैतिकरुपमा राजिनामा दिनु पर्ने नेतृत्वले दुरगामी परिणामका निर्णय लिनु अस्वाभाविक र अनैतिक भएको समेत कोइरालाले टिप्पणी गरे।
उनले भने,’ सरकार कामचलाउ हैसियतमा पुगिसकेकाले लोककल्याणकारी अवस्थाका दुरगामी प्रभावपर्ने कुनैपनि निर्णय गर्न हुदैन। यसले जनमानसमा वितृष्ण उत्पन्न हुन्छ ।’
सरकारको वृद्धभत्ता सम्बन्धी निर्णयको बोझलाई सरकारी ढुकुटीले थाम्न नसक्ने पनि उनको भनाई छ।
‘ केहीसमय अघि सरकारले ५५ वर्ष पुगेका दलित समुदाय तथा ६५ वर्ष उमेर पुगेका जेष्ठनागरिकलाई समाजिक सुरक्षाभत्ता दिने कुरा व्यवहारमा राम्रो हो,’ उनले भने,’ तर राष्ट्रको ढिकुटीले त्यसलाई धान्न सक्छ वा सक्दैन त्यो वुझनुपर्छ।’
उनले संघीय सरंचना अनुसार कांग्रेसको विधान परिवर्तनका लागी पार्टीले तत्काल महासमितिको वैठक वोलाउनुपर्ने दोह्रराएका थिए।
उनले भने,’ पार्टी महासमितिको वैठक वोलाएर एक वा डेढवर्ष भित्र महाधिवेशनका मिती टुंगो लगाउनु पर्छ।’