काठमाडौं- फूल्चोकीमा सात दिनदेखि हराईरहेका किशोर बुधबार भेटिए लगत्तै यो खबर भाइरल भयो। छ्यापछ्याप्ती खुलेका अनलाईनका प्रमुख समाचार बन्यो र सामाजिक सञ्जाल खुशी भावपूर्ण शब्दले भरिए। उता चन्द्र आले निशब्द थिए, जब फूल्चोकीको घनाजंगलको अनकन्टार खोचमा कुप्रो परेर लडिरहेका १७ वर्षीय जोन तामाङलाई आफूतिर तान्दै केहीबेर अंगालोमा बेरे। उनी सोच्न सक्थे, लगभग जीवनको आश मारिसकेको छोरालाई सकुशल अंगालोमा बेर्न पाउँदा जोनका अभिभावक कति खुशी होलान्।
उनले देखेका थिए, जोनका अभिभावकको अनुहारमा सन्तान हराउनु र लगभग गुमाईसकेकोजस्तो पीडा। बुधबार दिउँसो गोदावरीबाट फूल्चोकीतर्फ बढ्न लागेका चन्द्रप्रति ठूलो आशा व्यक्त गर्दै जोनका बाबु गौतमले उनलाई विदा गरेका थिए। चन्द्रसँग आफू पोजेटिभ रहनुको विकल्प थिएन। ‘उहाँहरुको त्यो छटपटीलाई सान्त्वना दिने मसँग शब्द त थिए तर म आफू त्यसमा ‘कन्भिन्स’ थिइन’ ललितपुरको झम्सिखेलस्थित मोक्ष भवनमा रहेको आफ्नो बहुउद्देशीय कार्यलयमा विहीबार दिउँसो ५२ वर्षीय चन्द्रको मुख मात्रै बोलिरहेको थिएन, मुहार आफै व्यक्त भईरहेको थियो।
रेस्कु सम्बन्धि सामग्री असरल्ल भएको कोठाभित्र चन्द्रको अनुहार चन्द्रमा जस्तै उज्यालो देखिन्थ्यो। उनको मोबाइलको घन्टी निरन्तर बजिरहेको थियो। उनी सकेसम्म सबैलाई ‘रेस्पोन्ड’ गरिरहेका थिए। ‘मेरो बच्चालाई कस्तो छ ? ओके, थ्याङ्क यू’, बीएन्डबीका डाक्टरले गरेको फोन सम्वादमा उनी भन्दै थिए। बीएन्डबीमा उपचाररत जोनबारे उनी ‘अपडेट’ लिइरहेका छन्। अर्कातर्फ उनको मोबाइलले लगातार बधाईको घन्टी बजाईरहेको छ।
‘ग्रेटेस्ट ह्याप्पीनेस अफ माई लाइफ’ प्रफूल्लित मुद्रामा उनी बारम्बार व्यक्त भईरहेका थिए। करीब डेढ दशकको ‘रेस्क्यु’ करियरमा उनको यो सबैभन्दा खुशीको क्षण थियो। ‘सायद अत्यन्तै अविस्मरणीय पनि’, चन्द्र भन्छन्। रेस्क्यु सम्बन्धि दक्षिण एसियाका क्षेत्रीय निर्देशक रहेका चन्द्र पछिल्लो समय प्राय प्रशिक्षणमा व्यस्त छन्। प्याराग्लाइडिङ, र्याफटिङ, ट्रेकिङदेखि विभिन्न क्षेत्रको विशिष्ट प्राविधिक ज्ञान उनीसँग छ। पर्यटन क्षेत्रमा करीब तीन दशकदेखि सक्रिय छन्। विभिन्न स्कुलसँग सम्बन्धित भएर विधार्थीलाई ‘आउट डोर’ कार्यक्रम पनि सञ्चालन गर्छन्। हिमालदेखि बाढी, पहिरो, दुर्घटना लगायतमा फसेकाको ‘रेस्क्यु’मा पनि अग्रसर हुन्छन्। हराईरहेकाको खोजी पनि गर्छन्।
मंगलबार बिहान बन्दीपुरमा रेस्क्यु मेडिकल ट्रेनिङ सञ्चालन गरिरहँदा उनलाई फोन आएको थियो, गौतमको । गौतमले चन्द्रलाई दुखद खबर सुनाए,’मेरो छोरा ६ दिनदेखि फूल्चोकीमा हराईरहेको छ। तपाईले सहयोग गर्नुपर्यो।’ चन्द्रलाई छटपटी भयो। किनभने गौतम र उनी लामो समयदेखि एउटै क्षेत्रमा नजिक भएर काम गरेका थिए। सन् १९९० को दशकमा दुवैले एउटै कम्पनीमा रहेर र्याफटिङमा काम गर्न सुरु गरेका थिए। सन् १९९५मा क्यानडा पुगेर रेस्क्यु सम्बन्धि प्राविधिक ज्ञान हाँसिल गरेका चन्द्रसँग गौतमले पनि प्रशिक्षण लिएका थिए।
‘ग्रेटेस्ट ह्याप्पीनेस अफ माई लाइफ’ प्रफूल्लित मुद्रामा उनी बारम्बार व्यक्त भईरहेका थिए। करीब डेढ दशकको ‘रेस्क्यु’ करियरमा उनको यो सबैभन्दा खुशीको क्षण थियो। ‘सायद अत्यन्तै अविस्मरणीय पनि’, चन्द्र भन्छन्।
‘आफ्नै छोरा हराएजस्तो पीडा भयो म आफैलाई । कसरी म वास्ता नगरी बस्न सक्थें’, उनले भने। आफ्नो रेस्क्यु गाडी लिएर उनी केही घन्टामै काठमाडौं हानिए। काठमाडौं आईपुगेपछि थाहा पाए- आर्मी, प्रहरी र सशस्त्रको टोली समेत जोनको खोजीमा असफल भएको रहेछ। जोनका परिवारको आशंका उनको कानमा आईपुग्यो– जोनलाई की कसैले भारत पुर्यायो की त उसको सास छैन।
जोन सुस्त मनस्थिति र शारिरीक रुपमा समेत कमजोर रहेका कारण परिवारको आशा निकै कम थियो। गौतमलाई ‘डन्ट वरी, लेट मी ट्राइ, आई विल ट्राइ माइ बेस्ट’ भन्दै चन्द्र बुधबार दिउँसो फूल्चोकीतर्फ आफ्नो टोलीसहित लागेका थिए। उनले यसअघि
हराएका मान्छे धेरैपटक भेटेका थिए तर मृत अवस्थामा। यति लामो समयदेखि हराइरहेका किशोरलाइ भेट्नु र त्यसमा पनि जिवितै अवस्थामा ? त्यो भने उनको मिहेनत र भाग्य दुवैमा भरपर्ने अवस्था थियो।
किशोर आफूसँगै गएको टोलीबाट जहाँबाट छुटेको भनिएको थियो, त्यस ठाउँ पुगेपछि उद्धारमा गएका एक सदस्यले भने,’हामीले यस क्षेत्रमा मात्र खोजि गरेका छौं। यहाँ भन्दा माथि गएका छैनौं। जोन माथिबाट पनि हराएको हुनसक्छ।’ चन्द्रलाइ केही विश्वास लाग्यो र उकालो लागे। केही अगाडि पुगेपछि उनको टोली दुई दिशामा बाँडियो। चन्द्रसहितको टोली एकातिर लाग्यो। केही अगाडि बढेपछि चन्द्रको टोली पनि दुईतिर बाँडियो। चन्द्रसँग अब एकजनामात्र साथी भए। यी दुई अन्धाधुन्ध अगाडि बढ्दै थिए, घना जंगलमा आफै बाटो बनाउँदैं।
‘एक्कासी भिरालो ठाउँ आयो। अब हामी तल झर्न थाल्यौं। तल झर्दै जाँदा बाटामा ब्याग भेटियो। त्यसपछि टिपिन’, चन्द्र भन्दै थिए, ‘त्यसपछि अलिक पर मान्छे पल्टिएजस्तो देखियो। नजिकै गएर जोन भन्दा उसले हामीतिर पुलुक्क हेर्यो। भाग्यवश ऊ रुखमा अड्किएको रहेछ। तर ऊ एक्लै त्यहाँबाट निस्कन वा माथि आउन सक्ने कुनै अवस्था थिएन।’
चन्द्रको खुशीको सीमा रहेन। सबैभन्दा ठूलो खुशी त, जोन जीवितै थिए। ‘हामीले रेडियो (रेस्क्युमा सञ्चार गर्ने सामग्री) मार्फत जोन भेटिएको खबर सुनायौं। तर हामी यस्तो अवस्थामा थियौं की त्यहाँ कोही आईपुग्ने सम्भावना नै थिएन। त्यहाँबाट जोनलाई बाहिर निकाल्नु नै चुनौतीपूर्ण थियो। तर बुद्धिपूर्वक एक जनाले बाटो बनाउने र अर्कोले जोनलाई बोक्ने काम पालैपालो गर्यौ’उनले भने। चन्द्र आश्चर्यचकित छन् ,जोन रहेको ठाउँमा आफूहरु पुग्नुलाई भाग्य सम्झन्छन्।
‘पहिलो कुरा त त्यस बाटोमा जाने आँट गर्नु नै ठूलो कुरा थियो। हामी कुनै योजना बनाएर वा दिमाग लगाएर त्यस बाटो गएका थिएनौं। सायद जोनको भाग्य बलियो थियो। तर हामी त्यो बाटो जाने आँट गर्नु चाँही ठूलो कुरा थियो’ उनी ठान्दछन्। बुधबार साँझ जोनलाई लिएर बीएन्डबी अस्पताल आइपुगेपछि चन्द्रलाई लाग्यो, जीवनमा अब योभन्दा ठूलो खुशी प्राप्त हुने छैन। जोनका आफन्तले लामो समय घेरिएका चन्द्रलाई बधाई थाप्न भ्याई नभ्याई थियो। ‘ ती खुशीका अनुहार देख्दा र धन्यवाद पाउने पात्र बन्दा शब्दमा वर्णन गर्न सक्दिन, चन्द्र भन्छन्। उनले दुवै देखे, सन्तानको वियोगमा अभिभावकको पीडा र सन्तान फर्कदा अभिभावकको खुशी ।
चन्द्रले आफ्नो जीवनमा १३ सयभन्दा बढीलाई रेस्क्यू सम्बन्धि प्रशिक्षण दिएका छन्। चन्द्रलाई पुन: एकपटक लागेको छ– मानव सेवा नै सबैभन्दा ठूलो खुशी हो,आफ्नो कारणले कोही खुशी भएमा त्यसले दिने सन्तुष्टि शब्दमा व्यक्त गर्न सकिँदैन।
‘मेरो साथीको खुशी फर्किएको छ। उसले आफ्नो छोरा पाएको छ। मेरो पनि छोराछोरी छन्। छोराछोरीको माया कति हुन्छ मलाई पनि थाहा छ, चन्द्रले भने। चन्द्रलाई आफूले गरेको काममा धन्यवाद दिने सूचिमा स्वयम उनका छोराछोरी पनि छन्।
‘कन्ग्राचुलेशन ड्याड, एन्ड रेस्ट अफ दी टीम’, बुधबार साँझ छोराले फोन गरेर चन्द्रलाई भने। किन हो, छोराछोरीले दिएको बधाई उनलाई विशेष लागेछ। ‘साथीको छोरालाई उद्धार गर्न पाउँदा एउटा बाबुले आफ्नै छोराछोरीबाट धन्यवाद पाउँनु त्यसले दिने खुशी विशेष हुने रहेछ, चन्द्र मुस्कुराउँदै व्यक्त भए। चन्द्रसँग रेस्क्यु सम्बन्धी सबै प्राविधिक सामग्री छन्। उनले रेस्क्यु गरेबापत अहिलेसम्म पैसा लिएका छैनन्। भन्छन्-मसँग पैसा कमाउने अरु धेरै ब्यवशाय छन्। त्यसैले कसैले मलाइ सहयोग गरिदिनु पर्यो भन्यो भने ‘आइ एम अलवेज रेडी फर फ्री अफ कस्ट बिकज देयर इज ग्रेट प्लेजर।’ परिवारमा खुशीयाली ल्याएका जोनको अवस्था खतरामुक्त रहेको उपचारमा सलग्न चिकित्सकले बताएका छन्।