
कास्की – पोखरामा भइरहेको आहा रारा गोल्डकप फुटबलको फाइनल खेल शनिबार हुँदैछ । १६ औँ संस्करणको उपाधिका लागि थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुनेछ ।
थ्री स्टारले बंगलादेशको उत्तर बरिन्धरा क्लब तथा नेपाल पुलिस क्लबले धरान फुटबल क्लबलाई हराएर फाइनल भेट पक्का गरेका हुन् ।
आहा रारा गोल्डकप फुटबलको इतिहासमा थ्री स्टार र नेपाल पुलिस क्लबबिच फाइनलमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो ।
पाँचौँपटक फाइनल खेल्न लागेको थ्री स्टारले यसअघि भएका कुनै पनि फाइनलमा हार बेहोरेको छैन । उसले आहा रारा गोल्डकपको पाँचौँ, नवौँ, ११ औँ र १३ औँ संस्करणको उपाधि जितेको छ ।
यस्तै नेपाल पुलिस क्लबले पनि यसअघि चारपटक उपाधि जितेको छ । उसले पहिलो, छैटौँ, सातौँ र आठौँ संस्करणमा उपाधि उचालेको छ । दुवै क्लब यसपटक पाँचौँपटक प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्यमा छन् ।
थ्री स्टारका प्रशिक्षक मेघराज केसीले आफूहरुले यसअघि फाइनल नगुमाएकाले यसपटक पनि जितका लागि तयारी गरेको बताएका छन् । खेलाडी राम्रा रहेको र तयारी पनि राम्रो भएकाले उपाधि जित्नेमा आशावादी रहेको उनको भनाई छ ।
यस्तै नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापाले भने सम्भावना आधा आधा रहेको बताएका छन् । क्लबमा राष्ट्रिय टिमका कुनै पनि खेलाडी नरहेको तर भएका खेलाडी राम्रा रहेकाले आश रहेको उनले बताए । उपाधिका लागि सक्दो प्रयास गर्ने उनको भनाई छ ।
थ्री स्टारका कप्तान बिक्रम लामाले आफूहरु जितका लागि केन्द्रित रहेको बताएका छन् । यस्तै नेपाल पुलिसका कप्तान हेम तामाङले आफूले कुनै दबाबको महसुस नगरेको र राम्रो खेल्ने प्रयास गर्ने बताएका छन् । खेल दिउँसो पोखरा रंगशालामा हुनेछ ।
प्रतियोगिताको विजेताले साता लाख रुपैयाँ तथा उपविजेताले साढे तीनलाख रुपैयाँ पुरस्कार पाउने छ ।