नेपालगञ्ज – नेपालगञ्जको एक पार्टी प्यालेजमा बिहे गर्न सुर्खेतबाट आउँदै गरेकी डेन्टल डाक्टर सरिता महतको गरगरहना, कपडा रहेको झोला बसबाट गायब भएको छ ।
बा ३ ख ३४४६ नम्बरको बसमा सुर्खेतबाट दिदीसँगै नेपालगञ्ज आउँदै गरेकी डा. महतको बिहेको गहना, कपडा रहेको झोला नै हराएको हो । ‘मेरो आफ्नै विवाह हो । २४ गते फिक्स भएको छ । नेपालगञ्जमै बिहे गर्ने गरी म सुर्खेतबाट आएको थिएँ’, महतले भनिन्, ‘ब्राउनकलरको मेरो गरगहना, कपडा रहेको सुटकेस बसबाटै हरायो ।’
महत मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा कार्यरत छन् । सुर्खेत उच्च अदालतमा कार्यरत अधिकृतसँग बिहेको तयारीमा रहेकी महत गरगहना, कपडादेखि दुलाहीका लागि चाहिने सिंगारपटारका सामानसमेत हराएपछि तनावमा परेका छन् ।
सुर्खेतबाट नेपालगञ्ज आउने बसमा चढेपछि महतले झोला खलासीलाई दिएकी थिइन् । खलासीले झोला बसको डिक्कीमा राखेको थियो । धेरै जनाका झोला थिए । कसले त्यो झोला लग्यो, आफूलाई थाहा नभएको खलासीले बताइरहेका छन् ।
नेपालगञ्जको पुष्पलालचोकमा बस रोकेर झोला लिन जादा नभेटाएपछि महत झागाबाट खसेको जस्तो भइन् । बसका कर्मचारीसँग सोधीखोजी गर्दा झोला नभेटिएपछि सरिता प्रहरीको शरणमा पुगेकी छन् ।
प्रहरीले दुवै पक्षलाई राखेर छलफल चलाएको छ । बसका कर्मचारीदेखि यातायात समितिका पदाधिकारी र महतको बिहेमा आएकाहरु पनि प्रहरी कार्यालयमा पुगेका छन् ।
खलासीले हर्रेसम्म आउदा झोला डिक्कीमै रहेको बताएका छन् । ‘राति नौ बजेतिर हामीकहाँ उजुरी आयो, त्यसपछि हामीले सम्भव्य ठाउँमा खोजतलास गर्यौ, झोला फेला पार्न सकेनौं’, प्रहरी अधिकृत रणबहादुर बिष्टले भने ।
१५ तोला सुनका गहना र कपडा नै हराएपछि तनावमा रहेकी महतले हुनेवाला श्रीमान काठमाडौंबाट आएपछि कसरी जाने भन्ने छलफल हुने बताइन् ।