काठमाडौं – आइतबार हुने २ नम्बर प्रदेशको प्रदेशसभा बैठकको तयारीका लागि दलहरु आन्तरिक छलफलमा जुटेका छन् । अरु प्रदेशमा वाम गठबन्धनको बहुमत भए पनि २ नम्बर प्रदेशमा भने मधेस केन्द्रित दल संघीय समाजावादी फोरम र राष्ट्रिय जनता मिलेर सरकार बनाउने अवस्थामा छन् ।
२ नम्बर प्रदेशमा बहुमतमा रहेका फोरम र राजपा आइतबारदेखि प्रदेशभाको अधिवेशन सुरु हुने भएकाले संसदीय दलको नेता र मुख्यमन्त्री छनोटका लागि आन्तरिक छलफलमा जुटेका छन् ।
यस प्रदेशको एक सय सात सदस्यीय प्रदेशसभामा फोरमका २९ र राजपाका २५ जना सांसद छन् । फोरमको संसदीय दलको नेता छनोटका लागि जनकरपुस्थित विराट चोकमा बिहान ११ भरहेको पार्टी कार्यालयमा बैठक बसिरहेको छ भने राजपाको सिद्धार्थ होटलमा १० बजेदेखि बैठक चलिरहेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा तालमेल गरेका दुई दलबीच मुख्यमन्त्री फोरम र सभामुख राजपाले लिने सहमति भइसकेको छ । दुवै दलको जारी बैठकले छनोट गर्ने संसदीय दलको नेता नै मुख्यमन्त्री र सभामुखको उम्मेदवार हुनेछन् ।
फोरमको जारी बैठकमा संसदीय दलको नेताका लागि तीन जनाको नाम प्रमुखताका साथ उठेको छ । बैठकमा दलको नेताका लागि विजय यादव, लालबाबु यादव र सैलेन्द्र शाहको नाममा छलफल भइरहेको छ । संसदीय दल तथा मुख्यमन्त्रीको उम्मेदवार छान्न अध्यक्ष उपेन्द्र यादव शनिबार बिहान जनकपुर पुगेका छन् ।
स्रोतका अनुसार विजय यादवलाई संसदीय दलको नेता बनाएर मुख्यमन्त्रीको उम्मेद्वार बनाउने संभावना प्रवल छ । उनी पार्टीको कोषाअध्यक्ष र झलनाथ खनाल प्रधानमन्त्री हुँदाका आपूर्तिमन्त्री समेत भइसकेकाले मुख्यमन्त्रीका प्रबल दाबेदारका रुपमा देखिएका हुन् । यादव पहिलो संविधानसभामा सिराह–२ बाट निर्वाचित भएका थिए ।
उनलाई अध्यक्ष उपेन्द्र यादवको समेत सद्भाव रहेको छ । त्यस्तै उपाध्यक्ष लालबाबु यादव र सैलेन्द्र शाहलाई पनि बलियो उम्मेदवारका रुपमा हेरिएको छ ।
त्यस्तै राजपाको जारी सांसदहरुको बैठकमा पनि संसदीय दलको नेता वा सभामुखको उम्मेदवारका रुपमा जितेन्द्र सोनल, रामनरेश यादव र मनिष सुमनमध्ये एकजनालाई बनाउने गरी छलफल भइरहेको बैठकमा सहभागी एक नेताले देश सञ्चारलाई जानकारी दिए ।
दुई नम्बर प्रदेशमा एमालेले २१, कांग्रेसले १९, माओवादी केन्द्रले ११ र संघीय समाजवादी नेपाल पार्टीको एक सिट रहेको छ । यी दलले पनि आइतबार सुरु हुने प्रदेशसभाको अधिवेशनका लागि आन्तरिक तयारी गरिरहेका छन् ।