
दाङ–घरमा बसेर प्रहरीको सञ्चार सेटमा ड्युटीमा छु भनेर ढाँट्ने प्रहरी कारबाहीमा समेत पर्न सक्ने भएका छन्। डिजिटल रेडियो कम्युनिकेसन सिस्टमले प्रहरीको अवस्था सहजै पत्ता लगाउन सक्ने भएको हो।
यस्तो प्रविधि अहिले दाङको जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। यसअघि पोखरामा यस्तो प्रविधि जडान गरिएको छ। प्रहरीले दिने सेवालाई चुस्त बनाउन प्रविधिको प्रयोग बढाइएको हो।
प्रहरीलाई प्रविधिमैत्री बनाउन जिपीएस सिस्टमबाट प्रहरीको अवस्था पत्ता लगाउन थालिएको हो।
डिजिटल रेडियो कम्युनिकेसन सिस्टम सहितको कमाण्ड सेन्टर स्थापना गरिएको र सोही सिस्टमबाट प्रहरीको अवस्था सजिलै पत्ता लगाउन सकिने छ। अब दाङका कुनै पनि स्थानमा सञ्चार सेट बोकेर डिउटीमा रहने प्रहरीले बोल्ने कुरा सञ्चार सेटको संकेतबाटै को कहाँ छ भन्ने जानकारी जिल्लामा प्राप्त हुने छ। साथै सञ्चार सेट बन्द गरेर बस्न समेत पाउने छैनन्।
प्रहरी डिउटी स्थानमा भएको या नभएको बारेमा जिल्लाबाटै थाहा पाउन सकिने छ।‘प्रहरी सँग रहने सञ्चार सेट चालु अबस्थामा कति नम्बरको सेट र को प्रहरी कहाँ रहेको छ भन्ने सबै जानकारी जिल्ला प्रहरी कार्यालयबाटै थाहा पाउन सकिने छ’, नेपाल प्रहरीको सञ्चार निर्देशनालयका प्रमुख डिआईजी डा.राजिव सुब्बाले भने, ‘यो प्रविधि जडान भएसँगै प्रहरीलाई काममा जिम्मेवार र कुनै पनि घटना स्थलमा छिटो पठाउन मद्धत पुग्ने छ।’
घरमा भएर डिउटीमै छु भन्ने र सेटमा आफुले बोलेको कुरा समेत रेकर्ड हुने हुँदा ढाँट्न समेत नपाउने डिआईजी सुब्बाले जानकारी दिए। यो प्रबिधीले प्रहरीलाई पेशा प्रति थप जिम्मेवार र सत्यको पक्षमा हिँड्न मार्ग दर्शन गर्ने विश्वास लिइएको छ।
अबको प्रहरी प्रविधिमैत्री: अर्याल
नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उत्कृष्ठ ढंगले शान्ति सुरक्षा कायममा खट्न प्रहरीहरुलाई निर्देशन दिएका छन्।
जिल्ला प्रहरी कार्यालय दाङमा ‘डिजिटल रेडियो कम्युनिकेशन सिस्टम’ सहितको कमाण्ड सेन्टरको शुक्रवार उद्घाटन गर्दै प्रहरी महानिरीक्षक अर्यालले कुनै पनि अपराध क्षम्य नहुने भन्दै उत्कष्ठ ढंगले सुरक्षामा खट्न निर्देशन दिएका हुन्।
‘स्रोत साधन, जनशक्तिको अभाब, खुला सिमाना, भौगोलिक बिकटता जस्ता समस्याहरुको बाहनामा जिम्मेवारीबाट पन्छिने प्रहरी कर्मचारी कार्वाहीको भागिदार बन्ने छन्,’ उनले भने, ‘प्रविधिबिना अब अपराध अनुसन्धान गर्न कठीन छ, अब प्रविधिवाटै अनुसन्धान हुन्छ।’
अबको प्रहरी प्रविधिमैत्री नभई कुनै पनि काम गर्न नसक्ने उनले स्पष्ट पारे। प्रहरीलाई प्रविधिमा सक्षम बनाउँदै शान्ति सुरक्षा कायममा प्रहरी संगठन केन्द्रित रहेको समेत अर्यालले बताए।