
प्रदेश नम्बर एकको मुख्यमन्त्रीका लागि एमाले सचिव भीम आचार्य तथा पूर्वसञ्चारमन्त्री शेरधन राईबीचको प्रतिस्पर्धा जारी रहेको छ।
माघ २२ गते सोमबार प्रदेश नम्बर एकको पहिलो बैठक विराटनगरमा बस्दैछ। यसअघि मुख्यमन्त्रीमा दुवै नेताबीच तिव्र प्रतिस्पर्धा छ।
पार्टीको पूर्वसचेतक आचार्यले सुनसरी क्षेत्र नम्बर १ को क बाट प्रदेश निर्वाचनमा जित हातपारेका हुन्। यद्यपि उनले त्यसअवधिमा खुलेर आफुलाई मुख्यमन्त्रीको दावेदार बनाएका थिएनन्। अर्कोतर्फ भोजपुर ख बाट जित हात पारेका शेरधन राईले भने निर्वाचन पूर्व नै आफूलाई मुख्यमन्त्रीका लागि निर्वाचनमा होमिएको बताएका थिए।
प्रदेश संयोजक समेत रहेका आचार्यले भने, ‘संसदीय दलको बैठक २४ गतेपछि बस्नेछ। त्यही मुख्यमन्त्री लगायतका विषयमा छलफल हुनेछ।’
देशसञ्चारसँग टेलिफोनमा कुरा गर्दै पार्टी स्थायी कमिटी सदस्य समेत रहेका आचार्यले अन्तिम समयसम्म सहमतिका लागि प्रयास जारी रहने बताए।
मुख्यमन्त्रीको दौडमा शेरधन राई, जीवन घिमिरेको कडा रुपमा दाबेदारी दिइरहेको अवस्थामा आचार्यले भने, ‘पार्टी पंक्तिको साथ रहेको छ, मुख्यमन्त्रीमा म एक्लै छु।’
उनले भने, ‘अन्य प्रतिस्पर्धीलाई अन्तिम समयसम्म मनाउने प्रयास रहनेछ, सहमतिको प्रयास रहनेछ।तर, सहमति नभए निर्वाचनमै हो होमिने। आशा छ, उहाहरुले अन्तिम समयसम्ममा आ आफ्नो हठ त्याग्नुहुनेछ र सहमति बनाउने वातावरण श्रृजना हुनेछ।’
हाल प्रदेश एकमा एमालेको ५१ जना प्रदेशसभा सदस्य छन्। संख्याको आधार हेर्दा मुख्यमन्त्रीमा आचार्यको दाबेदारी बलियो रहेको मोरङ जिल्ला पूर्वअध्यक्ष महेश रेग्मी बताउँछन्।
अर्कातर्फ मुख्यमन्त्रीका दाबेदार शेरधन राई पूर्वको भाषिक अवस्था भुगोल संरचना अनुसारपनि आफ्नो दाबेदारी बलियो रहेको बताउँछन्। यद्यपि निर्वाचन पश्चात विराटनगरबाट विजयी भएका अर्का नेता जीवन घिमिरे पनि आफुलाई दाबेदारीको सूचीमा अटाउने प्रयासमा रहेका छन्। उनले समेत आफ्नो दाबेदारीमा शतप्रतिशत निर्णय हुने बताउँछन्।
विगतमा माधवकुमार नेपाल र झलनाथ खनालनिकट घिमिरे पछिल्लो समय अध्यक्ष केपी ओली नजिक देखिएका छन्।
प्रदेश नम्बर एकमा मुख्यमन्त्रीको छनोट फागुन ३ गतेभित्र सकिनुपर्नेछ। कुल ९३ जना प्रदेश सभासदस्य रहेको प्रदेश नम्बर एकको पहिलो प्रदेश सभा बैठक सोमबार बस्दैछ।