
विन्टर विण्डोमा आर्सनलबाट आएका एलेक्स सान्चेजले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडबाट पहिलो गोल गरेका छन् ।
प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले हडर्ल्सफिल्डलाई २–० ले हराउने क्रममा सान्चेजले एक गोल गरेका हुन् । उनले म्यानचेस्टरबाटको यसअघिको डेब्यु खेलमा गोलका लागि सहयोग गरेका थिए ।
पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ५५ औँ मिनेटमा रामेलु लुकाकुको गोलबाट जोसे मोरिन्होको टिमले अग्रता लियो । ६८ औँ मिनेटमा सान्चेजले युनाइटेडबाट पहिलो गोल गर्दै टिमलाई २–० को जित दिलाउन भूमिका खेले ।
सान्चेजले पेनाल्टी प्रहार गरेको बल मिस भएर फर्किएको थियो । तर उनले त्यसलाई फेरि प्रहार गर्दै गोलमा परिणत गरेका हुन् ।
हडर्ल्सफिल्डका डिफेन्डर माइकल हेफेलेले फउल गरेपछि पाएको पेनाल्टी अवसरमा सान्चेजले बल प्रहार गरे । तर हडर्ल्सफिल्डका गोलरक्षक जानास लोस्लले रोके । त्यसक्रममा फर्किएको बललाई सान्चेजले गोलमा परिणत गरेका हुन् ।
जितपछि दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको २६ खेलबाट ५६ अंक भएको छ । उ शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा १३ अंकले पछि छ । पराजित भएको हडर्ल्सफिल्ड भने रेलिगेशन जोनमा गएको छ । १९ औँ स्थानको उसको २६ खेलबाट २४ अंक छ ।