
बुटवल – प्रदेश नम्बर पाँचको प्रदेशसभाको पहिलो बैठक आइतबार बस्दैछ । दिउँसो १ बजेका बोलाइएको प्रदेश सभाको पहिलो बैठककको सबै तयारी पूरा भएको प्रदेश संसद सचिवालयका सहसचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।
दिउँसो १ बजे राष्ट्रिय गान बजाएर बैठक आरम्भ गरिनेछ । त्यसपछि एकमिनेट शहीदको सम्झनामा मौनधारण हुनेछ ।
सभाका ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले प्रदेशसभाको पहिलो बैठक आह्वानसम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनेछन् । लगत्तै ज्येष्ठ सदस्यले आफ्नो लिखित मन्तव्य राख्नेछन् । मन्तव्यपछि दलीय प्रतिनिधित्वका आधारमा एक दलको एक जनाका दरले ६ जनाले मन्तव्य राख्नेछन् ।
दलका प्रतिनिधिको मन्तव्यपछि ‘प्रदेशसभा बैठक सञ्चालनसम्बन्धी अन्तरिम कार्यविधि–२०७४’ सभामा पेश हुनेछ । दलहरुको परामर्शमा तयार पारिएको सो अन्तरिम कार्यविधि जस्ताको तस्तै पारित हुनेछ ।
प्रदेशसभा सदस्यले कार्यविधि पारित गरेपछि बैठकले अर्को कार्यसूचि पेश गर्नेछ । प्रदेशसभा सचिवालयका अनुसार माघ २८ गते सभामुखको निर्वाचन गर्ने कार्यसूचि तयार पारिएको छ । जसका लागि २७ गते मनोनयन दर्ताको समय तोकिनेछ ।
अन्तरिम कार्यविधिको मस्यौदा तयार
प्रदेशसभा सचिवालयले प्रदेशसभा अधिवेशन सञ्चालनका लागि अन्तरिम कार्यविधिको मस्यौदा तयार गरेको छ ।
सचिवालयले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेता, जेष्ठ सदस्यसँग अन्तरिम कार्यविधिबारे छलफल गरी मस्यौदा तयार पारेको हो ।
संघीय ससंद सचिवालयले तयार पारेको प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधिको मस्यौदा दलका प्रतिनिधिसँग छलफल गरेर तयार गरिएको हो । सोही कार्यविधिका आधारमा प्रदेशसभा अघि बढ्नेछ ।
बैठकमा आन्तरिक मर्यादापालकको भूमिका निर्वाह गर्नका लागि नेपाल प्रहरीबाट १५ जना मर्यादापालक खटिनेछन् ।
मर्यादापालकका लागि पुरुषहरुलाई सेतो दौरासुरुवाल, कालोकोट र टोपी तथा महिलाका लागि साडी, चोलो र कालो कोट पोशाक तय गरिएको छ ।
सभामुखका लागि दुईजनाको चर्चा
प्रदेश नम्बर पाँचमा एमालेका शंकर पोखरेल मुख्यमन्त्री बन्ने भएपछि माओवादी केन्द्रले सभामुख पाउने भएको छ । माओवादी प्रदेश नम्बर पाँचका इन्चार्ज वर्षमान पुनका अनुसार माओवादीले केही दिनभित्रै सभामुखको उम्मेदवार तय गर्नेछ ।
प्रदेश सभामा एमालेका ४१ र माओवादीका २० सांसद् छन् । केन्द्रीय सहमतिअनुसार यहाँ एमालेले ४ मन्त्री पाउने छ र माओवादीले ३ मन्त्री पाउने छ ।
सभामुखको टुंगो लगाउन माओवादीले संसदीय दलको बैठक बोलाउने तयारी गरेको छ ।
माओवादीले कुलप्रसाद केसीलाई संसदीय दलको नेता र सुदर्शन बराललाई सभामुख बनाउने चर्चा छ । यस्तै पूर्णबहादुर घर्तीले पनि सभामुखको दाबी गरेका छन् ।
यो पनि पढ्नुहोस्…