
बुटवल–प्रदेश नम्बर पाँचको सभामुखका लागि फागुन २ गते निर्वाचन हुने भएको छ । आईतबार बसेको प्रदेश सभा बैठकले फागुन २ गते प्रदेश सभामुखको निर्वाचन गर्ने तय गरेको हो ।
पहिलो बैठकको शुरुमा प्रदेश नम्बर ५ का ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले शान्तिका अग्रदुत बुद्धको जीवनीसँग गाँसिएको पवित्रभूमि क्षेत्रमा सहभागी प्रदेश सभा सदस्यलाई स्वागत गर्दै नेपाली जनताको बलिदानीपूर्ण संघर्षको परिणामस्वरुप हासिल भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई संस्थागत गर्ने ऐतिहासिक अवसर र जिम्मेवारी प्राप्त भएको भन्दै बधाई दिएका थिए ।
‘प्रदेश नम्बर ५ लाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा समृद्ध बनाउने हाम्रो चाहना पूरा होस्–उनले शुभकामना व्यक्त गर्दै भनेका थिए ।
त्यसपछि बैठकमा उपस्थित ५ वटा दलका प्रतिनिधिले सम्बोधन गरेका थिए । एमाले संसदीय दलका नेता शंकर पोखरेल, माओवादी केन्द्रका कुलप्रसाद केसी, कांग्रेसका वीरबहादुर राना, संघीय समाजवादी फोरमका सहश्रराम यादव, राष्ट्रिय जनमोर्चाकी तारा जिसीले सम्बोधन गरेका थिए ।
सम्बोधनका क्रममा उनीहरुले प्रदेशलाई समृद्ध बनाउनका लागि सबैको साथ आवश्यक रहेको बताए । उनीहरुले प्रदेश समृद्ध बनाउने यात्रा शुरु भएको भन्दै त्यसतर्फ लाग्ने बताए ।
सम्बन्धित समाचार…
प्रदेश ७ को पहिलो बैठक सम्पन्न: मोष्ट वान्टेड रेसमलाई प्रमाणपत्र दिन माग