नेपालगञ्ज – नेपालगञ्जमा राजधानी माग्दै सिटी जुलुस निकालिएको छ।
बुटवलमा प्रदेश सभाको पहिलो बैठक बसिरहँदा नेपालगञ्जमा भने राजनीतिक दलहरुले बाँकेलाई पाँच नम्बर प्रदेशको राजधानी माग्दै सिटी जुलुस निकालेका हुन्।
पहिलो चरणको पूर्वनिर्धारित कार्यक्रम अनुसार आइतबार सिटी जुलुस निकालिएको थियो।
माघ ९ गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएर सुरु भएको पहिलो चरणको आन्दोलन १० गते प्रमुख स्थानमा ब्यानर टाँस, ११ गते जिल्लाभरि हस्ताक्षर संकलन, १३ गते जनप्रतिनिधिलाई प्रतिबद्धता पत्रमा हस्ताक्षर, १४ गते प्रत्येक घरधुरीमा कालो झण्डा, १५ देखि १९ गतेसम्म गाउँपालिका स्तरीय भेला र आइतबार सिटी जुलुससँगै सकिएको छ।
बिपीचोकबाट सिटी बजाउँदै निस्केको जुलुश त्रिभुवनचोक, त्रिवेणीमोड हुँदै धम्बोझीमा पुगेको थियो। कोणसभामा बाँके राजधानी संघर्ष समितिका संयोजक निरक गुरुङ र नेपालगञ्जका मेयर डा. धवल शमशेर राणाले मन्तब्य राख्दै अब आन्दोलनलाई उचाइमा पुर्याउने बताए।
संयोजक गुरुङले २३ गते सबै राजनीतिक दल, व्यापारी, नागरिक समाजमा अगुवाका बीचमा बैठक बसेर चर्को आन्दोलन तय गर्ने बताए । ‘पहिलो चरणमा शान्तिपूर्ण भयो, अब बन्दलगायतका कार्यक्रमहरु बनाउँछौं,’ संयोजक गुरुङले भने।
आइतबारको सिटी जुलुसमा एमालेका जिल्ला अध्यक्ष अशोक कोेइराला, कांग्रेसका जिल्ला सभापति किरण कोइराला, माओवादी केन्द्रका केन्द्रीय सदस्य दामोदर आचार्य, संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष कमरुद्दिन राइलगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो।
प्रतिनिधिमूलक सहभागिता रहेको जुलुस सिटी बजाउँदै बजार परिक्रमा गर्दा स्थानीयहरुले टुलुटुलु हेरेपनि जुलुशमा सहभागी जनाएका थिएनन्।
सम्बन्धित समाचार

भर्खरै
लोकप्रिय






































































































































































































