
नेपालगञ्ज – जब रगतको कुरा आउँछ, गोपीनाथ वैश्यलाई सबैले सम्झिन्छन्। रगत खोज्दै पुग्नेलाई उनले रित्तो हात फर्काउदैनन् पनि।
नेपालगञ्जमा ‘रगत नपाए गोपीनाथकहाँ जानु’ भन्ने भनाई नै छ। हुन त, गोपीनाथलाई नेपालगञ्जसँग मात्रै जोडेर कुरा गरियो भने अन्याय हुन्छ।
गोपीनाथ नेपालमै सबैभन्दा धेरै १ सय ५३ पटक रक्तदान गर्ने जनसेवी हुन्।
नेपालगञ्ज–६, रामनगरका यी ६० वर्षे गोपीनाथले तीन/तीन महिनामा निरन्तर रगत दान गरिरहेका छन्। उनी आफै ब्लड बैंकमा पुगेर रगत दिने गर्दछन्।
एकपटक रगत दिएपछि अर्को पटक दिनलाई तीन महिना कुर्नुपर्ने हुन्छ। तर बैश्यलाई उक्त नियमले बाँध्न सकेन। उनले रगत अत्यावश्यक भएका कयौं बिरामीलाई तीन महिना नपुग्दै रगत दिएका छन्। उनले पछिल्लो पटक मंसीर ३० गते रक्तदान गरेका थिए।
‘रगत नपाएर कोही नमरुन्’ उनको भनाइ छ। उनका रगतले अधिकांस सुत्केरी महिला बाँचेका छन्। नेपालगञ्जभन्दा पनि पहाडी तथा टाढाका जिल्लाहरुबाट ल्याउने सुत्केरी महिलाका लागि गोपीनाथ ‘बरदान’ नै सावित भएका छन्।
‘टाढाबाट आएका बिरामीको एकजना कुरुवा हुन्छ। उसले एक प्वाइन्ट दिएपनि बिरामीलाई रगत पुग्दैन, यस्ता धेरैलाई मैले रगत दिएको छु, बैश्यले भने, मेरो रगतले पहाडी जिल्लाका धेरै महिला बाँचेका छन्।’
गोपीनाथको रगत दिने जनसेवी काम लहडबाट शुरु भएपनि पछि ‘दायित्व’ कै रुपमा अघि बढेको छ। २०३३ सालतिर गोपीनाथ घरमै बसिरहेका थिए । रेडियो बनाउने एकजना एजाज भन्ने व्यक्ति भाई बनावरीलाल बैश्यलाई खोज्दै आए। बनावरी घरमा थिएनन्। ‘भाइलाई किन खोज्यौ ?’ गोपीनाथले सोधे । एजाजले श्रीमतीको डेलिभरीकेस भएको र रगत चाहिएकाले बनावरीलाई खोजेको बतायो।
गोपीनाथले भाई छैन, म नै रगत दिन्छु भनेर सँगै गए।
त्यतिबेला बालमन्दिरमा रहेको रेडक्रसमा पुगेर गोपीनाथले पहिलो पटक रगत दिए।
पहिलो पटक रगत दिएपछि गोपीनाथलाई ‘मैले अलिकति रगत दिंदा अर्काको ज्यान बाँच्दोरहेछ, यो त पुण्यको काम हो’ भन्ने लाग्यो।
त्यसपछि उनकोे रगत दिने सिलसिला प्रारम्भ भयो जुन अहिलेसम्म जारी छ । ‘फाल्गुन ३० मा तीन महिना पुग्छ, त्यतिबेला काठमाडौं जाने काम छ, उतै कुनै ब्लड बैंकमा पुगेर रगत दिनुपर्ला, गोपीनाथले तीन महिने कार्यतालिका सम्झे।
हप्तामा तीन पटक रक्तदान
एकपटक रगत दिएको तीन महिनापछि अर्को पटक रगत दिने भनिएपनि गोपीनाथ बैश्यले हप्तामा तीन पटकसम्म रगत दिएका छन् । ‘यो कुरा मैले पहिलो पटक भन्दैछु’ गोपीनाथले घरको आँगनमा बसेर संवाददातासँग कुराकानी गरिरहदा खोले।
घनश्यामदास ज्वैलर्सकी श्रीमतीको डेलिभरी केस थियो। रगत चाहियो। गोपीनाथलाई खोज्दै आए। गोपीनाथले रगत दिए। तीन दिनपछि फेरि छिमेकी मजिद मनिहारकी श्रीमतीको डेलिभरीकेसमा रगत चाहियो। मजिद पनि गोपीनाथलाई खोज्दै आए। यो बेला पनि गोपीनाथले रगत दिए।
घनश्यामदासको श्रीमती अझै अस्पतालमै थिइन्। उनलाई फेरि रगत दिनुपर्ने भयो। फेरि गोपीनाथलाई बोलावट आयो। दुई दिनपछि नै उसलाई दोस्रो पटक रगत दिए। घनश्यामदासकी श्रीमतीको अप्रेसन गरेर दुई बच्चा निकालियो।
‘रगत चाहियो भनेर छिमेकीहरु खोज्दै आउथे, जवानी थिए। हप्तामा तीन पटक रगत दिए, गोपीनाथले भने, हप्तामा तीन पटक रगत दिएपछि मेरो अनुहार पहेलो भयो। त्यसपछि मैले यसरी रगत दिन छोडे।’
गोपीनाथलले १३ पटक त भाईको नाममा रक्तदान गरेका छन्।
ब्लड बैंकले एउटै व्यक्तिलाई अवधि नपुग्दा रगत नझिक्ने नियम कडा बनाएपछि गोपीनाथले भाईको नाममा रगत दिएका हुन्।
‘आफूले रगत दान गरेको एक/डेढ महिनाको अवधिमै रगत माग्न आएपछि आफ्नै नामबाट नभई भाईको नामबाट रगत दिए,’ गोपीनाथले भने । गोपीनाथले आफ्ना सबै भाईहरुको अनुहार एउटैजस्तो भएकाले ब्लड बैंकका कर्मचारीले नचिनेको बताए।
परिवार नै रक्तदाता
गोपीनाथ बैश्यकी श्रीमती लक्ष्मीदेवी बैश्यले २० पटक रक्तदान गरिसकेकी छन्। दुई छोरामध्ये जेठो दुर्गेसले पाँच र कान्छो शिवकुमारले सात पटक रक्तदान गरेका छन्।
गोपीनाथका भाईहरु पनि रक्तदान गर्दै आएका छन्। गोपीनाथका परिवारलाई भेटेपछि ‘त्यसै रगत चाहिए गोपीनाथकहाँ’ जानु भनेका रहेनछन् भन्ने लाग्यो। श्रीमती लक्ष्मीको रगत एबी गु्रप रहेछ। गोपीनाथको ओ पोजिटिभ। ‘हाम्रो त परिवारका हरेक सदस्यले रक्तदान गर्छन्, त्यही भएर कोही रगत खोज्दै आए भने जसरी पनि व्यवस्थापन गर्छौ। उसलाई रित्तो हात फर्काउदैनौ।’ कतिलाई त गोपीनाथले ब्लड बैंकबाट रगत सापट लिएर पनि दिएका छन्। अवधि नपुग्दै रगत खोज्दै आएकाहरुलाई तीन महिनापछि तिर्ने गरी गोपीनाथले रगत सापट लिएर दिने गरेका हुन्।
गोपीनाथका रगत दिंदा दिदै हातमा गाठा परेका छन्। ‘पहिला पहिला रगत झिक्ने मोटो सुई हुन्थ्यो। रगत ग्लुकोजको बोत्तलमा झिक्थे, पुराना दिन सम्झिदै गोपीनाथले भने, एक सय ५३ पटकबढी सुई गोपिएको मेरो हातमा गाठैगाठा परेका छन्।’

गोपीनाथ वैश्य। तस्बिर: कुमारश्रेष्ठ
२२ औं पटक रगत दिंदा बेहोस
गोपीनाथ बैंश्य २२ औं पटक रगत दिंदा बेहोस् भएका थिए। बैशाख जेठको गर्मी महिना थियो। रगत दिएर निस्केपछि उनले सुर्तीवाला पान र चुरोट खाए। त्यो खाएको केहीबेरमा गोपीनाथ बेहोस् भए।
रेडक्रसको भवन नजिकै थिए।
गोपीनाथ बेहोस् भएको अरुले देखे। उठाएर स्ट्रेचरमा राखेर भित्र लगियो। केही कर्मचारी बरफ लिन गए। बरफ ल्याउन नपाउदै गोपीनाथको होस आयो। त्यसपछि गोपीनाथलाई सम्झाइयो, रगत दिएको एक घण्टासम्म कुनै अम्बल खानु हुँदैन। रगत दिने बित्तिकै सुर्ती, चुरोट, पानलगायत खाएमा असर गर्दोरहेछ भन्ने थाहा पाएपछि गोपीनाथले त्यसपछि त्यो काम छोडे। यो बाहेक गोपीनाथलाई रगत दिंदा खासै असर गरेको छैन । रगत दानीमा गोपीनाथको चर्चा, नेपालमात्रै नभएर भारतमा पनि छ । उनले भारतको बनारस, लखनऊ, बहराइच, रायबरेलीलगायत ठाउँमा पुगेर रक्तदान गरेका छन् । ‘मैले भारतमा रक्तदान गरेको त जोडिएकै छैन, गोपीनाथले भने ।
गोपीनाथले यतिबेला विश्वमा सबैभन्दा बढी रक्तदान कसले गरेको रहेछ भनेर सोध्न थालेका छन् । भारतमा गुजरातका राजेश मेहताले १ सय ६८ पटक रक्तदान गरेर भारतमा रेकर्ड बनाएका छन् । विश्वमा अमेरिकाका टेरी प्राइसले सबैभन्दा धेरै रक्तदान गरेर गिनिज बुकमा नाम लेखाएका छन् । ६० वर्ष पुगेका गोपीनाथ अझै ५ वर्ष रक्तदान गरेर रेकर्ड बनाउने बताउँछन् । स्वास्थ्यले साथ दिएसम्म रक्तदान गर्छु, ६५ वर्षसम्म दिन पाइन्छ भन्ने सुनेको छु, गोपीनाथले भने ।
२० वर्ष ‘फायरमेन’
जीवनदाता गोपीनाथ बैंश्यले २० वर्ष नेपालगञ्ज नगरपालिकाको बारुणयन्त्र (दमलक) कार्यालयमा फायरमेनको काम गरे ।
विजयकुमार गुप्ता मेयर हुँदा जागीर गरेका बैश्यको २०५४ पछि धवल शमशेर राणा मेयर हुँदा स्थायी भए । काम शुरु गरेको ७ वर्षपछि बैश्य स्थायी भए । ‘१७ सयबाट शुरु भएको मेरो जागीर १४ हजारमा पुगेर टुंगियो, दुई वर्षअघि रिटायर्ड भएका गोपीनाथले भने ।
दमकलमा काम गरिरहदा गोपीनाथलाई रगतका लागि खोज्दै आउनेहरु त्यही पुग्थे । रगत दिएर आउने बित्तिकै आगो निभाउन पुगेका छन्, गोपीनाथ । ‘कार्यालयमा कर्मचारी कम थिए । भर्खरै रगत दिएर आएको थिए, आगो लाग्यो भन्ने खबर आयो, म नै आगो निभाउन गए, गोपीनाथले भने । अहिले फाल्गुन अन्तिमदेखि जेठ अन्तिमसम्म बाँकेमा अधिक आगलागीका घटना हुन्छन् ।
गोपीनाथ यतिबेला रिटायर्ड जीवन बिताइरहेका छन् । रगत दिने कामबाट भने रिटायर्ड भएका छैनन् ।
बाबुको लाश आँगन राखेर पर्चा पम्प्लेट
गोपीनाथ बैश्यको अर्को परिचय भनेको उनी प्रजातान्त्रिक आन्दोलनमा सक्रिय व्यक्ति हुन् । २०३६, २०४२ र २०४६ सालमा पञ्चायतविरोधी गतिविधि गर्दा उनी जेल परेका थिए ।
२०३६ सालमा विद्यार्थी आन्दोलनमा सहभागी हुँदा प्रहरीले थुन्यो । २०४२ सालमा नेपाली कांग्रेसको प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुँदा त्रिभुवनचोकबाट प्रहरीले समातेर लग्यो । जंगलमा लगेर छोडिदियो । गोपीनाथ जंगलबाट भोलीपल्टै आएर फेरि आन्दोलनमा सरिक भए । त्यसपछि समातेर चार महिना जेल हाल्यो ।
२०४६ सालमा प्रजातान्त्रिक आन्दोलन उत्कर्षमा पुगेको थियो । त्यहीबेला बुवाको निधन भएको थियो । बुवाको लाश घरको आँगनमा रहदा पनि गोपीनाथ पञ्चायत विरोधी पर्चा बाँडिरहेका थिए । लाश रहेको दिन प्रहरीले उनलाई केही गरेन । भोलीपल्ट आएर प्रहरीले चौकीमा लग्यो । पक्राउ पूर्जी नहुँदासम्म नजाने अडानमा बसे । त्यतिबेला कांग्रेसको त्यस्तै उर्दी थियो । पक्राउ पूर्जी मागिरहदा प्रहरी र स्थानीयवासीको संख्या थपिएर घुँइचो लाग्यो । मान्छेहरु धेरै जम्मा भएपछि गोपीनाथ प्रहरीसँग भ्यानमा चढेर निस्के ।
गोपीनाथ चौकीमा पुगेपछि प्रहरीले कोडभाषामा कुराकानी गर्न थाले, ‘क’ कि ‘ख’ । घुमुवाले भन्यो, ‘क’ । उच्च लेबललाई ‘क’ भन्थे प्रहरी । यहीबीचमा गोपीनाथले एकछिनलाई घरमा गएर बिस्तारा ल्याउन दिन अनुरोध गरे । प्रहरीले सहर्ष स्वीकार गरेर आफै लिएर गएर बिस्तारा ल्याउन दिए । प्रहरीले त्यतिबेलाको डिएसपी अफिसमा तीन दिन राख्यो ।

गोपीनाथ वैश्यले पाएका प्रमाणपत्र। तस्बिर: कुमार श्रेष्ठ
२४ घण्टामा पक्राउ पूर्जी दिनु पर्नेमा दिएन । तीन दिनपछि पक्राउ पूर्जी दियो । पक्राउ पूर्जी दिएको राती नै कारागारमा पठायो । यो पटक गोपीनाथलाई दुई महिना कारागारमा राखियो । जनआन्दोलन सफल भएको कुरा आयो । त्यो २०४६ चैत्र २६ गतेको कुरा थियो । कारागारमा रहेका सबैलाई राती नै छोड्ने आदेश भयो । कारागार प्रशासनले सबैलाई ‘जाऊ’ भने भन्यो । गोपीनाथहरु रातीमा प्रहरीले बाहिर निकालेर गोली हान्ने हो कि भन्ने डरले निस्किएनन् । जबकी राती नै उनीहरुले रेडियोमा गणेशमान बोलेको सुनेका थिए । भोलीपल्ट बिहान कांग्रेसका नेताहरु युवराज शर्मालगायतको टोली बाजागाजा लिएर कारागार पुग्यो, अबिरजात्रासहित गोपीनाथको टोली बाहिर निस्कियो । त्यतिबेला गोपीनाथ ‘चट्टान सिंह’को नाम पनि परिचित थिए ।
राज्यको बेवास्ता
२०४६ सालको जनआन्दोलनमा जेलनेल खाएको, त्यो भन्दा पनि देशमै सबैभन्दा बढी रक्तदान गर्ने गोपीनाथलाई राज्यले कुनै सुविधा दिएको छैन ।
दिन प्रति दिन उमेर ढल्किदै जादा गोपीनाथलाई दालभातकै चिन्ता बढिरहेको छ । ‘राजनीतिक आन्दोलन छोडौ, सबैभन्दा धेरै रक्तदान गरेर जनसेवाको काम गरेपनि मलाई अहिले बिरामी भइहालेमा कुनै सुविधा छैन, गोपीनाथले भने ।
जनआन्दोलन सफल भएपछि तत्कालिन कांग्रेस नेता गिरिजाप्रसाद कोइराला नेपालगञ्ज आएको बेलामा पाँच सय रुपैया र दोसल्ला ओढाउनु बाहेक पार्टीले पनि कुनै सम्मान गरेन । पार्टीमा पनि मण्डलेहरु माथिल्लो स्थानमा पुगेको देख्दा गोपीनाथलाई पीडा हुने गर्दछ । न त यी जीवनदातालाई राज्यले कुनै पूण्य काम गरेको नै देखेको छ ।
मज्जाले हाँसीहाँसी गफ गरेका गोपीनाथ र श्रीमती लक्ष्मी आर्थिक अवस्थाको कुरा गर्ने बित्तिकै गम्भीर भए । ‘राज्यले उपचार र सामान्य खर्च उपलब्ध गराइदिए हुन्थ्यो, श्रीमती लक्ष्मीले भनिन्, खाली सम्मानपत्र र दोसल्ला ओढाउँछ । त्यसले खान दिदैन ।’
रक्तदाताका नाममा गोपीनाथका घरमा सम्मानपत्रका चाङ नै लागेको छ । कति त मुसाले खाइसकेका छन् । ‘एउटा सम्मानपत्र दिएर पठाउँछन्, ती कति त मुसाले खाए, बचेका सम्मानपत्रहरु देखाउदै लक्ष्मीले भनिन्।