
आउँदो फागुन पहिलो साता विराटनगरमा मुलुकभरका लेखक , साहित्यकारको भेला हुने भएको छ।
नेपाली लेखक संघ मोरङले आयोजना गर्ने दुई दिने विराट लेखक सम्मेलनमा देशभरका साहित्यकार आउन लागेका हुन्।
नेपाली लेखक संघ मोरङले मंगलबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष गोकुल अधिकारीले फागुन ४ र ५ गते सम्मेलन गर्न लागेको जानकारी दिए। उनले भने, सम्मेलनमा सात प्रदेशका २ सय ५० जना लेखक साहित्यकार सहभागी हुनेछन्।
कोसीभन्दा पश्चिम काठमाडौं, चितवन, पोखरा, हेटौंडा, पाल्पा, धादिङलगायतका स्थानबाट आउने साहित्यकारको संख्या १ सय रहने पनि अधिकारीले बताए। सम्मेलन भाषा साहित्यको प्रादेशिक अवस्थिति भन्ने विषयबस्तुमा केन्द्रीत हुने संघका सचिव मीनकुमार नवोदितले जानकारी दिए ।
सम्मेलन संघीयताको सफल कार्यान्वयनका लागि लेखक साहित्यकारले खेल्नुपर्ने भूमिकाका बारेमा बहस हुने बताइएको छ।
यस्तै सम्मेलनमा आफ्नो प्रदेशको भाषा साहित्यको विद्यमान अवस्था र त्यसको विकासका लागि चालिनुपर्ने कदमका विषयमा सातवटै प्रदेशबाट एक–एकजना विद्धानले लिखित अवधारणपत्र प्रस्तुत गर्ने कार्यक्रममा जानकारी दिइएको थियो । यस्तै सम्मेलननमा साहित्य, संस्कृति, मातृभाषा र समसामयिक नेपाली कविता गरी चारवटा विषयका छुट्टाछुट्टै अवधारणपत्र पनि प्रस्तुत गरिने छ।