‘नेपाल सानो देश हुँदै होइन, समृद्ध बनाउन विशाल परियोजना चाहिन्छ’

‘नेपाल सानो देश हुँदै होइन, समृद्ध बनाउन विशाल परियोजना चाहिन्छ’
+
-

काठमाडौँ-द्रुतगतिमा आर्थिक उन्‍नति गरेर विश्वकै अग्रणी अर्थतन्त्रकारुपमा उदाएका भारत र चीनबीचको नेपाललाई समृद्ध राष्ट्रमा रुपान्तरण गर्न सकिने अथाह संभावना रहेको एकजना भारतीय कूटनीतिज्ञले बताएका छन्।

नेपाल विश्वसम्बन्ध परिषद्ले मंगलबार ललितपुरमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध र भावी दृष्टिकोण’ विषयक प्रवचनमा उहाँले भूगोल र जनसंख्याका हिसाबले नेपाल विश्वकै मध्यम मुलुक भएको बताए।

‘नेपाल सानो देश हुँदै होइन, कतिपय युरोपेली राष्ट्र नेपालभन्दा साना छन्,’ नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले भने, ‘राष्ट्रिय ढुकुटी भर्ने विशाल परियोजनाबाटै नेपालीको समृद्धि सुनिश्चित हुन्छ, यसका लागि साना तथा मझौला परियोजनाभन्दा जलविद्युत् उत्पादनका ठूला परियोजना सञ्चालन गर्नुपर्दछ।’

उनले ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम तीव्र गतिमा अघि बढिरहेको तर त्यसको प्रचार नगरिएको बताउँदै जलविद्युत्पछि नेपालको अथाह विकासको संभावना बोकेको पर्यटन क्षेत्र हो भने।

भारतीय राजदूत पुरीले नेपालको विकासका बाहक युवापुस्ता हुन् भन्दै ‘वैदेशिक मुद्रा आर्जनको भरपर्दो स्रोत पर्यटन भएकाले यसबाट अधिकतम लाभ लिन अब नेपाल पछि पर्नुहुँदैन, भौतिक पूर्वाधार निर्माण गर्नसके दोब्बर पर्यटन भित्र्याउन सकिन्छ,’ बताए।

‘एउटा अन्तर्राष्ट्रिय विमानस्थल भए सुनमा सुगन्ध हुन्थ्यो,” उनले भने, ‘हजारौँ भारतीय तीर्थयात्री नेपालगञ्‍ज हुँदै कैलाश मानसरोवर जाने गरेका र अधिकाधिक भारतीयको जीवनकालमा एकपटक मुक्तिनाथ दर्शन गर्नुपर्छ भन्ने मान्यता रहेको छ।’

भारतीय राजदूत पुरीले नेपाली जनताको क्रय शक्तिमा भएको वृद्धि र वस्तु तथा सेवाको अधिक खपतले भारतसँगको व्यापार घाटा बढेको बताउँदै नेपालको कृषिलाई आधुनिकीकरण गर्नैपर्ने र कृषि उत्पादकत्व वृद्धिले पनि केही हदसम्म व्यापार घाटा परिपूर्ति गर्ने धारणा व्यक्त गरे।

‘भारत र नेपाल सुखदुःखका साथी हुन्, एकअर्काका पीरमर्का दुवैले बुझेका छन्, सरकारी र जनस्तरमा पारस्परिक सम्बन्धलाई प्रगाढ पार्ने प्रयास भएका छन्, नेपालको समृद्धि तथा स्थायित्व हाम्रो चाहना हो,’ प्रवचनका क्रममा सहभागिले सोधेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘प्रचण्डज्यूलाई पुत्रशोक परेका बखत हाम्रा प्रधानमन्त्री र विदेशमन्त्रीले तत्काल फोन गरेर सात्वना दिनुभयो, तीनवटै तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा नेपाल सरकार र राजनीतिक दललाई बधाइ दिन र भारतले नेपाललाई सक्दो सहयोग गर्ने सन्देश प्रवाह गर्न गत साता भारतीय विदेशमन्त्री नेपाल आउनुभएको हो।’

राजदूत पुरीले अदुवालगायत नेपाली उत्पादन निकासीमा भारतले अवरोध खडा नगरेको, खुला सिमाना आर्थिक गतिविधिका निम्ति उपयुक्त रहेको, सहज रुपमा सीमा वारपार गर्ने प्रबन्ध गर्न युरोपेली संघलाई ५० औँ वर्ष लागेको सन्दर्भ सुनाउँदै दुवै देशका सुरक्षा निकायको समन्वय र सहयोगमा सीमा क्षेत्रमा अवाञ्छित गतिविधि हुन नदिने भरमग्दुर प्रयास भइरहेको बताउनुभयो ।

नेपाली भूमि अतिक्रमणको प्रतिवाद गर्दै उनले सन् १९९८ मा भारत र नेपालले सिमाना व्यवस्थापनका निम्ति गरेको सहमतिअनुरुप काम भइरहेको, ‘स्ट्रिप म्याप’ तयार पारिएका र भौगोलिक अवस्थिति प्रणाली (जिपिएस)अनुरुप भएको सिमांकन अतिक्रमण अकल्पनीय भएको बताए।

कार्यक्रममा राजदूत पुरीले नेपालको आन्तरिक माामिलामा भारतबाट सूक्ष्म व्यवस्थापन, हस्तक्षेप एवं प्रभाव, जलस्रोतको उपयोग, नेपालको संविधानप्रति भारतको दृष्टिकोण, भारतीय सहयोगका विकास परियोजनामा हुने हदैसम्मको ढिलासुस्तीलगायत दर्जनौँ गैरकूटनीतिक प्रश्नको सन्तुलित जवाफ दिए।

परिषद्का अध्यक्ष हेमन्त खरेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष उमेशबहादुर मल्ल, महासचिव असिम थापा र कोषाध्यक्ष रविन्द्रनाथ भट्टराईले नेपाल–भारत सम्बन्धका विविध आयामबारे चर्चा गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?