
काठमाडौं – राष्ट्रियसभा सदस्य चयनका लागि बुधबार मतदान हुँदैछ । ६ प्रदेशका तोकिएका मतदानस्थलमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षले राष्ट्रियसभा सदस्य चयनका लागि मतदान गर्ने छन् ।
प्रदेश नम्बर २ का ८ वटै पदमा निर्विरोध भएकाले त्यहाँ बुधबार मतदान हुने छैन ।
नेपालको संविधानको धारा ८६ मा प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलले दिएको मतका आधारमा एकल सङ्क्रमणीय मत प्रणालीबमोजिम प्रत्येक प्रदेशबाट आठ जनाका दरले कूल ५६ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुने व्यवस्था छ ।
तर त्यसमध्ये प्रदेश नम्बर २ का ८ सहित समग्रमा २४ जना निर्विरोध भएकाले बुधबार ३२ पदका लागि ६ प्रदेशमा मतदान हुँदैछ । मतदान बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।
निर्वाचन प्रणाली र प्रतिनिधित्व
महिला तीन र अन्य तीन सदस्यका लागि एकल सङ्क्रमणीय मत प्रणालीअनुसार मतदान हुनेछ भने दलित एक, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक गरी दुई सदस्यका लागि भने सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुनेछन् ।
कूल ५६ सदस्यका लागि हुने मतदानमा २४ जना निर्विरोध निर्वाचित भएकाले बुधबार ३२ सदस्यका लागि ५२ जना उम्मेदवार निर्वाचनको प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले जानकारी दिए । निर्वाचनका लागि ६ प्रदेशमा १२ वटा मतदान केन्द्र रहेका छन् ।
प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्य गरी कूल दुई हजार ५६ मतदाता रहेका छन् ।
तर प्रदेश नं २ मा सबै निर्विरोध निर्वाचित भएकाले बुधबारको निर्वाचनमा बाँकी ६ प्रदेशका स्थानीय तहका एक हजार २३४ र प्रदेशसभाका ४४३ गरी कूल एक हजार ६७७ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने निर्वाचन आयोगले जनाएको छ ।
स्थानीय तहका पदाधिकारीको प्रत्येकको मतभार १८ र प्रदेश सभाका सदस्य प्रत्येकको मतभार ४८ हुने प्रावधान छ ।
सुरक्षा व्यवस्था राम्रो, ठुक्क भएर मतदान गर्न आग्रह
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सरकारले शान्ति सुरक्षाको भरपर्दाे व्यवस्था मिलाएकाले राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गतको मतदानमा ढुक्क भएर सहभागी हुन आह्वान गरेका छन् ।
प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचनमैत्री वातावरण बनाउन सरकार, राजनीतिक दल र उम्मेदवार सरोकारवाला सबैसँग आग्रह गरे
निर्वाचनमा स्वस्तिक चिह्नको प्रयोग हुँदैन
प्रमुख निर्वाचन आयुक्त डा. यादवले विगतका निर्वाचनमा जस्तो यस निर्वाचनमा स्वास्तिक चिह्नको प्रयोग नहुने जानकारी दिए ।
तीन महिला र अन्य तीन सदस्यका लागि एकल सङ्क्रमणीय मतका आधारमा मत सङ्केत गर्नुपर्ने भएकाले मतदाताले बढीमा तीनजना उम्मेदवारलाई १, २ र ३ भनी प्राथमिकता तोक्नुपर्नेछ ।
त्यस्तै महिला एक र अपाङ्गता÷अल्पसङ्ख्यक समुदायबाट निर्वाचित हुने एक सदस्यको मतपत्र पनि अलग–अलग हुने भएकाले हरेक मतपत्रमा बढीमा एकजना उम्मेदवारलाई तोकिएको स्थानमा ठीक (राइट) चिह्न संकेत गर्नुपर्ने छ ।
आयोगले निर्वाचनमा निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतादाताले आफू निर्वाचित भएको प्रमाणपत्रको विकल्पमा मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्रका आधारमा पनि मतदान गर्न पाउने व्यवस्था गरेको छ ।
मतदान सकिए लगत्तै मतगणना
मतदान सकिएलगत्तै मतगणना कार्य सुरु गर्न र मतगणना कार्यलाई निरन्तर जारी राखेर पूर्णता दिन सबै निर्वाचन अधिकृतलाई निर्देशन दिइएको प्रमुख निर्वाचन आयुक्त डा. यादवले दिए ।
आयोगले सातवटै प्रदेशको अन्तिम परिणाम प्राप्त गरेपछि आवश्यक तयारी पूरा गरी राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम यथाशीघ्र राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी गरेको उनले बताए ।
राष्ट्रियसभा सदस्यको निर्वाचनको अन्तिम मत परिणाम प्राप्त भएलगत्तै आयोगले प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपरिणाम सार्वजनिक गर्ने जनाएको छ ।
त्यसमा विभिन्न दलले प्राप्त गरेको सिट संख्या, समावेशी समूहबाट हुने प्रतिनिधित्व, न्यूनतम मतसीमा (थे्रसहोल्ड) तीन प्रतिशतभन्दा बढी मत ल्याउने दलको संख्या र सिट तोकी बन्द सूचीमा रहेका उम्मेदवारमध्ये निर्वाचित हुने उम्मेदवारको नाम सिफारिश गर्न दललाई तीन दिनको समय दिएर पत्राचार गरिनेछ ।