
काठमाडौं- सरकारले निर्धारण गरेको नयाँ मर्यादाक्रममा राष्ट्रिय योजना आयोगका सदस्यहरुले असन्तुष्टि जनाएका छन्।
उनीहरुले विश्वविद्यालयका उपकुलपति र नेपाल राष्ट्र बैंकका गभर्नरलाई आफूहरुभन्दा माथि राखिएको भन्दै असन्तुष्टि जनाएका हुन्।
एक सदस्यले देश सञ्चारसँग भने, ‘योजना आयोगको सदस्य पहिलेदेखि नै गभर्नर र उपकुलपतिभन्दा माथि थिए तर जसरी अहिले सरकारले नयाँ मर्यादाक्रम तोकेको छ, त्यसमा हाम्रो असन्तुष्टि हो।’
आयोगका उपाध्यक्षसँग पनि कुरा गरिसकेको भन्दै उनले यस विषयमा प्रधानमन्त्रीलाई पनि ध्यानाकर्षण गराउने बताए।
योजना आयोगकै मिटिङमा पनि बिगतदेखि नै आयोगका सदस्य भन्दा गभर्नर मुनि हुने परम्परा रहेको भन्दै सरकारले हाल निर्धारण गरेको मर्यादाक्रम परिमार्जन हुनुपर्ने उनी बताउँछन्।
पहिलेको मर्यादाक्रमको चौधौं स्थानमा योजना आयोगका सदस्यभन्दा मुनि नेपाल राष्ट्र बैंकका गभर्नर, विश्वविद्यालयका उपकुलपति रहेका थिए। तर नयाँ मर्यादाक्रमले नेपाल राष्ट्र बैंकका गभर्नर र विश्वविद्यालयका उपकुलपतिलाई नवौं स्थानमा राखेको छ।
नयाँ मर्यादाक्रमले योजना आयोगका सदस्यलाई दशौँ स्थानमा राखेको छ।