
जनकपुरधाम- धनुषाको क्षिरेश्वरनाथ नगररपालिका ८ हार्सरमा एक महिलालाई आगो लगाएर हत्या गर्ने प्रयास भएको छ । हार्सर नगरपालिकाकी २० बर्षिय हजरा खातुनलाई उनकै ससुरालीका मान्छेले जलाएर मार्ने प्रयास गरेका छन्।
श्रीमानसँग सम्बन्ध विच्छेद गर्न नमान्दा सासु ससुराले बुहारी हजरामाथि मट्टीतेल छर्केर आगो लगाएको हजराका आमावुवाले आरोप लगाएका छन्।
आगोमा परी टाउकोभन्दा तलको शरीरको सम्पूर्ण भाग जलेको हजाराको उपचार काठमाडौंको किर्तिपुर अस्पतालमा भइरहेको छ।
उक्त घटना गत शनिबार बिहान भएको हो। शनिबा बिहान ९ बजे उनी आफ्नो ससुराली घरमा जलेर गम्भीर घाइते भएको जानकारी पाएपछि प्रहरीले उद्धार गरेको थियो। गम्भीर घाइते भएकी हजरालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि पठाएको थियो।
हार्सर निवासी २४ वर्षिय रसिद राईनसँग वैवाहिक बन्धनमा बाँधिएकी हजरा आगोमा जलिरहँदा श्रीमान घरमै थिए। घटनाको बारे थाहा पाएपछि प्रहरीले रसिदलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो ।
सम्बन्ध विच्छेद गर्न नमान्दा भयो हत्या प्रयास
आगोमा जलेर घाइते भएकी हजरा खातुनको माइत पक्षले छोरी हजराको सम्बन्ध विच्छेद गर्न नमान्दा घरपरिका सम्पूर्ण सदस्यले मट्टीतेल छर्केर जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेको बताएका छन्। हजाराको आमाबुबाले छोरीलाई उसको ससुराली पक्षले हत्या गर्न चाहेको भन्दै प्रहरीमा पाँच जना विरुद्ध उजुरी दिएको छ।
हजराकी आमा जनकपुर उपमहानगरपालिका २० देवपुरा रुपैठा बस्ने तैरुल खातुनले हजराका श्रीमान रसिद, ससुरा ५५ वर्षका अलिशेख कवारी, सासु रामसुनरि खातुन र नन्द जाहिर खातुन माथि उजुरी दिएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ। तर प्रहरीले हालसम्म हजराको श्रीमान रसिदलाई मात्र पक्राउ गरेको हो ।
प्रहरीका अनुसार छिमेकहरुले हजरा आफैँले आगो लगाएको बताएका छन्। तर हजराका बुबा सकुर राईनले परिवारकै सबैजना मिलेर छोरीलाई जलाएर मार्ने प्रयास गरेको कुरा छोरीले आफुलाई होसमा आएपछि सुनाएको बताएका छन्।
छोरीलाई भर्ना गराएर घर फर्किएका बुबा सकुरका अनुसार केही महिनादेखि श्रीमान सहित घरपरिवारले हजरालाई नराख्ने, सम्बन्ध विच्छेद गर्ने भन्दै यातना दिँदै आएका थिए।
सकुरका अनुसार छोरीको दुःखबारे प्रहरीमा उजुरी समेत दिएको र जिल्ला प्रहरी कार्यालय धनुषाभित्र रहेको महिला तथा बालबालिका कार्यालयमा पञ्चायत भएपछि हजरालाई अबदेखि यातना नदिने ससुराली पक्षले भनेको थियो। तर सहमति भएको एक महिना नवित्दै यस्तो घटना घटेको सकुरले बताए।
गरिबीका कारण उपचारमा समस्या
हजराका बुबा सकुरले छोरी गम्भीर घाइते भएर अस्पतालमा भर्ना हुँदा ससुरा पक्षले एक पैसा नदिएको बताएका छन्। छोरीको यो हालमा पनि आफू गरिबीको कारण उपचार गराउन समस्यामा परेको सकुरले बताए। उनले भने, ‘जाहेरी दिएको मध्ये ज्वाइँलाई मात्र प्रहरीले पक्राउ गरेको छ र अन्य अभियुक्तहरुलाई पक्रेर घटनाको सत्यतथ्य बाहिर ल्याउनु साटो उल्टै हत्यालाई आत्महत्या बनाउने प्रयास भएको छ।’
काठमाडौमा उपचार भइरहेको हजरालाई हेरचाह गर्ने उनको साथमा आमा मात्रै बसेकी छिन्।