
सेभिल्ला स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको खेलमा ला लिगा क्लब लेगानेसलाई २–० ले हराउँदै समग्रमा ३–१ को जितसहित सेभिल्लाले फाइनलमा स्थान बनाएको हो ।
पहिलो लेगमा १–१ को बराबरी भएको थियो । तर घरेलु मैदानमा भएको दोस्रो लेगमा सेभिल्लाले २–० को जित निकाल्दै पछिल्ला तीन सिजनमा दोस्रो पटक फाइनलमा स्थान बनाउन सफल भयो ।
अन्तिम ८ को खेलमा रियल मड्रिडलाई अवे गोलमा हराउँदै सेमिफाइनलमा आएको लेगानेस फाइनलमा भने पुग्न सकेन । दोस्रो लेगमा सेभिल्लालाई जिताउन जोएक्वीन कोरिया र फ्र्याङ्को वाज्क्वेजले गोल गरे ।
कोरियाले १५ तथा वाज्क्वेजले ८९ औँ मिनेटमा गोल गरेका हुन् । सन् २०१६ मा कोपा डेल रेको फाइनलमा बार्सिलोनासँग पराजित भएको सेभिल्लाले यो पटक पनि बार्सिलोनासँगै प्रतिस्पर्धा गर्नु पर्ने सम्भावना बढी छ ।
साबिक विजेता बार्सिलोनाले बिहीबार राति सेमिफाइनलको दोस्रो लेगमा भ्यालेन्सियासँग प्रतिस्पर्धा गर्ने छ । पहिलो लेगमा बार्सिलोनाले १–० को जित निकालेको थियो । फाइनल खेल आउँदो अप्रिल २१ म हुनेछ ।