
कर छलीको आरोपमा जनवरीमा आर्सनलबाट म्यानचेस्टर युनाइटेड आएका स्ट्राइकर एलेक्स सान्चेजलाई स्पेनको अदालतले १६ महिनाको जेल सजाय तोकेको छ ।
सान्चेज प्रिमियर लिगमा सबैभन्दा बढी आम्दानी गर्ने खेलाडी हुन्, जसले हप्ताको ६ लाख पाउण्ड पारिश्रमिक लिन्छन् । सान्चेजमाथि सन् २०१२ देखि २०१३ सम्म बार्सिलोनामा रहँदा झण्डै १० लाख युरो वा ९ लाख पाउण्ड कर छली गरेको आरोपमा मुद्दा चलिरहेको थियो ।
सान्चेजले अदालतमा सुनुवाईका लागि गइरहने झन्झटबाट मुक्त हुनका लागि जेल सजाय स्वीकार गरेका हुन् । सान्चेजले आफ्नो इमेज राइटबाट भएको कमाईको कर नतिरेको आरोप छ ।
उनीमाथि सन् २०१६ मा कर छलीको आरोपमा मुद्दा दायर भएको थियो । उनका एजेन्टले त्यसबेला सान्चेज कानुनप्रति पूर्णरुपमा बफादार रहेको बताएका थिए ।
सान्चेज स्पेनमा कर छलीको आरोप खेप्ने मध्ये विश्वफुटबलका एक ठूला खेलाडी हुन् । बार्सिलोनाका लियोनल मेस्सी तथा रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोमाथि पनि कर छलीको आरोप लागेको छ ।
स्पेनको कानुन अनुसार दुई वर्ष भन्दा कम जेल सजायका लागि जेलमा बस्नु पर्दैन । यसले गर्दा सान्चेजले जेलमा समय बिताउनु पर्ने छैन ।