काठमाडौँ-चीनकी यिमिङ दाङ नेपाल आइटिएफ जुनियर यु–१८ टेनिस प्रतियोगिताको सर्किट– १ अन्तर्गत महिला एकल विधाको सेमिफाइनलमा प्रवेश गरेकी छन्।
सातदोबाटोस्थित टेनिस कोर्टमा बिहीबार भएको खेलमा यिमिङले भारतकी प्रिंकल सिंहलाई ६–१, २–६ र ६–३ को सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकी हुन् ।
सोही स्पर्धामा जापानकी कानोन यासुमोटोले भारतकी श्रीनिधि श्रीधरलाई पाखा लगाइन् भने भारतकी दिब्या भानीले हङ्कङकी चुइ केइ लिउङलाई ७–५ र ६–३ तथा अमेरिकाकी रुतुजा छप्हल्करले जापानकी मनामी उकितालाई ६–१ र ६–१ को सेटमा हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
पुरुष एकलतर्फ जापानका ताइयो हिरानोले नाइथाउलिन केल्भिन गोल्मेईंलाई ५–७, ६–४ र ६–४, भारतका अनुराग अग्रवालले प्रशन्न प्रवीण बगाडेलाई ७–५ र ६–२, ताइपेईका चिया फन साउले वंश भग्तानीलाई ६–२ र ६–२ तथा जापानका ताइसेई कागेयामाले जैस्विन सिडानालाई ४–६, ७–५ र ७–५ को सेटमा पाखा लगाउँदै सेमिफाइनलमा स्थान पक्का गरे । सेमिफाइनलमा पराजित हुने चारै खेलाडी भारतका हुन् ।
अखिल नेपाल लनटेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष डबल्समा जापानका हिरानो र ताइपेईका साउको जोडीले भारतका वंश र जैस्विनको जोडीलाई ६–२ र ६–२ तथा चीनका वेनमाउ लि र याङझुवान लिको जोडीले जापानका दाइसुके इनागावा र कोगेयामाको जोडीलाई ६–३ र ६–४ को सोझो सेटमा पन्छ्याउँदै फाइनलमा पुगे ।
महिला डबल्समा भारतका स्मृति भासिन र रुदया शाहको जोडीले भारतका अस्प्रित कौर वाज्वा र पुन्यातोया मोहपात्रको जोडीलाई ७–५ र ७–५ तथा हङ्कङकी लिउङ र भारतकी सान्या सिंहको जोडीले जापानका आयुमी हमा र यासुमोटोको जोडीलाई ६–१, ३–६(१०–७) को सेटमा निराश पार्दै उपाधि भिडन्त पक्का गरे।