
काठमाडौँ- नेपालमा विखण्डनवादी अभियानलाई प्रश्रय दिएको आरोप खेपेको ब्रिटिस दातृ निकाय ‘डिफिड’ को निर्देशनमा त्यहाँ सिनियर गभर्नेन्स एड्भाइजरका रुपकामा कार्यरत राकेश मिश्राले राजीनामा दिएका छन्।
व्यक्तिगत कारणले राजीनामा दिएको दाबी गरे पनि डिसेम्बर दोस्रो साता अर्थसचिव शंकरप्रसाद अधिकारीले डिफिड नेपाल प्रमुख रुरिक मार्सदेनलाई बोलाई मिश्राका मुलुक विखण्डनका पक्षमा आएका गतिविधिहरुबारे आपत्ति जनाएपछि एक महिनाभित्र उनलाई कारबाही गरी सरकारलाई जानकारी दिने प्रतिबद्धता डिफिड प्रमुखले गरेका थिए।
मिश्राको राजीनामा त्यसै प्रसंगमा आएको बुझिएको छ। पहिले राष्ट्रसंघ आवासीय कार्यालय अन्तर्गत विराटनगरस्थित फिल्ड अफिसमा कार्यरत छँदा मिश्राले सामाजिक सञ्जालमार्फत खुलेरै स्वतन्त्र मधेशका पक्षमा अभिव्यक्ति दिनुका साथै काठमाडौँमा राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय नियोगका केही प्रतिनिधिहरुसँग त्यसको पक्षमा लबिङ गरेका थिए।
फिल्ड अफिसका गतिविधिहरुबारे समेत नेपाल सरकारले विरोध जनाएपछि राष्ट्रसंघ आवासीय कार्यालयले ती अफिस बन्द गरेको थियो।
त्यसको केही समयपछि डिफिडमा सिनियर गभर्नेन्स पदमा नियुक्ति पाएका मिश्राले नोभेम्बरको अन्त्यमा मधेसी नेताहरु महन्थ, राजेन्द्र महतो र उपेन्द्र यादवले निर्वाचनमा भाग लिने निर्णय गरेपछि उनीहरुमाथि गम्भीर व्यक्तिगत आक्षेप लगाउँदै चुनाव बहिष्कारको वकालत गरेका थिए, फेसबुकमार्फत।
त्यसको भोलिपल्टै डिफिडले त्यो मिश्राको निजी विचार भएको र त्यसले संस्थाको मान्यतालाई प्रतिनिधित्व नगर्ने स्पष्टीकरण दिए पनि नेपाल सरकारले त्यसलाई गम्भीरतासाथ लिँदै डिफिड प्रमुखलाई चेतावनी दिएको थियो।