
विन्टर (शीतकालीन) ओलम्पिकको २३ औँ संस्करण शुक्रबारदेखि दक्षिण कोरियाको प्योङच्याङमा सुरु हुँदैछ ।प्योङच्याङ ओलम्पिक इतिहासमै सबैभन्दा चिसो क्षेत्रमा भएको पहिलो ओलम्पिक हुँदैछ । प्योङच्याङको बिहीबार रातिको तापक्रम माइनस २० डिग्री थियो । तापक्रम अझै घट्ने क्रममा छ ।
शीतकालीन ओलम्पिक आफैमा महत्वपूर्ण रहँदै आएको छ । तर यसपटक दुई कोरियाबिचको सम्बन्ध र रुसी खेलाडीका कारण पनि थप चर्चामा छ ।
उत्तर कोरियाको परमाणु कार्यक्रमका कारण तनावमा रहेको कोरियाली प्रायद्विपको सम्बन्ध विन्टर ओलम्पिकले न्यानो बनाउने संकेत मिलेको छ । दुई कोरियाले उद्घाटन सत्रमा साझा झण्डा लिएर संयुक्त मार्च गर्दै छन् ।
जनवरीको सुरुमा भएको उच्चस्तरीय वार्तापछि उत्तर कोरिया प्रतियोगितामा सहभागी मात्रै हुन राजी भएन, दुवै कोरियाले साझा झण्डा बोक्ने सहमति पनि गरे ।
यस्तै राज्यकै संलग्तामा सन् २०१४ को ओलम्पिकमा खेलाडीले शक्तिवर्धक औषधि लिएको आरोपमा प्रतिबन्ध खेपेको रुसका १६९ खेलाडी यो प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन् । उनीहरु राष्ट्रिय टिमको रुपमा नभई स्वतन्त्र खेलाडीको रुपमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।
१७ दिन अर्थात फेब्रुअरी २५ सम्म चल्ने प्रतियोगितामा१५ खेलका विभिन्न स्पर्धामा १०२ स्वर्ण पदकका लागि विश्वका ३ हजार भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । दक्षिण कोरियाका १३ स्थानमा खेल हुनेछ ।
सम्बन्धित समाचार
विन्टर ओलम्पिकको एक दिनअघि उत्तर कोरियाले सैन्य परेड गर्दै