
काठमाडौं – आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू प्रतियोगितामा शुक्रबार नेपालले ओमानसँग खेल्दैछ ।
बिहीबारदेखि नामिबियामा सुरु भएको प्रतियोगितामा घरेलु टोली नाबिबियालाई हराएर विजयी सुरुवात गरेको नेपालले शुक्रबार ओमानको समाना गर्न लागेको हो । खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे नामिबियाको विन्डहोकमा सुरु हुनेछ ।
प्रतियोगितामा नेपालसहित क्यानडा, ओमान, केन्या, युएई र नामिबियाले प्रतिस्पर्धा गरिरहेका छन् । नेपालले बिहीबार पहिलो खेलमा नामिबियालाई एक विकेटले हराएको हो । जितसँगै नेपाल ६ राष्ट्र सम्मिलित प्रतियोगितामा २ अंकसहित तेस्रो स्थानमा छ ।
राउन्ड रोबिन लिगका आधारमा सन्चालन हुने प्रतियोगितामा शीर्ष दुई टोली आउँदो वर्ष हुने एक दिवशीय विश्वकप क्रक्रिकेट छनौट खेलका लागि छानिने छन् ।
केन्या, युएई, नामिबिया र नेपाल वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा कमजोर प्रदर्शनपछि तल झरेका हुन् । १० टोली सहभागी हुने विश्वस्तरको छनौटबाट दुई टोली विश्वकपमा छनौट हुनेछन् ।
विश्वस्तरको छनौटमा सहभागी हुने ६ एसोसिएट टोलीमध्ये नेदरल्यान्ड्ससहित चार टोलीले चार वर्षका लागि एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाउनेछन् । त्यसैले डिभिजन टू सबै ६ टोलीका लागि महत्वपूर्ण छ ।
नेपालले फेब्रुअरी ११ मा युएई, फेब्रुअरी १२ मा केन्या तथा फेब्रुअरी १४ मा क्यानडासँग प्रतिस्पर्धा गर्नेछ ।
सम्बन्धित समाचार