
काठमाडौँ- निर्वाचन आयोगले मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा चुनावको समानुपातिकतर्फका सदस्य संख्या बाँडफाँड गरेको छ ।
शुक्रबार बसेको आयोगको बैठकले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको सिट संख्या निर्धारण गर्दै पाँच राजनीतिक दललाई पत्राचार गर्ने निर्णय गरेको हो। आयोगको निर्णय अनुसार ४९ राजनीतिक दलमध्ये पाँच राजनीतिक दलले मात्रै सिट प्राप्त गर्न सफल भएका छन्।
आयोगका प्रवक्ता नवराज ढकालका अनुसार एक सय १० सिटमध्ये एमाले ४१, नेपाली कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले ६/६ सिट प्राप्त गरेका छन् । तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलले मात्र समानुपातिका सिट सुरक्षित गरेका छन् ।
नेपालको संविधानको धारा ८४ को उपधारा (८) मा संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कूल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था छ ।
राजनीतिक दलहरुले प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र राष्ट्रिय सभातर्फ प्राप्त गरेको महिलाको सीट संख्याको आधारमा एमालेले कम्तीमा ३७ कांग्रेसले २०, माओवादीले १६, राजपाले ६ र फोरमले ५ जना महिला पठाउनु पर्ने भएको छ।
आयोगले पार्टीको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिबाट निर्णय गरी माघ २९ गतेभित्र नामावली निर्वाचन आयोगमा पेश गर्न आग्रह गरेको छ।
सम्बन्धित समाचार