
नेपालगञ्ज– ‘प्रेमले मान्छेलाई अन्धो बनाउँछ’ त्यसै भनिएको होइन रहेछ। नेपालगञ्जको त्रिभुवनचोक निवासी सुरज जयसवालले
प्रेमको चक्करमा गतराति आफ्नै शरीरमा आगो लगाएका छन्। त्रिभुवनचोकको नारायणस्कूल अगाडि पान पसल गरेर बसेका सुरजले राति साढे नौ बजे पसलकै अगाडि शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन्।
आफ्नै पसलको पारिपट्टी रहेको मनुको पानपसलबाट सलाई झिकेर सुरजले शरीरमा आगो लगाएका थिए। ‘म शरीरमा आगो लगाएर मर्दैछु,’ सुरजले भन्दा सुन्नेहरुले विश्वास नै गरेका थिएनन्। एक्कासी सलाई कोरेर शरीरमा लगाएर आगो दन्किँदा पो सबैजना चकित भए। सबैजना आगो निभाउन तल्लिन भए।
‘कपडामा आगो दन्किँदासम्म सुरज चुप थिए, जब आगोले शरीर छोयो, त्यसपछि चिच्याउन थाल्यो, छट्पटिन थाल्यो, हामी सबै दौडेर गएर आगो निभायौं,’ स्थानीय जयपाली कनोजियाले भने, ‘कोहीले ज्याकेट खोलेर छोप्ने त कोहीले नजिकै रहेको बालुवा र पानी खन्याएर आगो निभाइयो।’
आफ्नै शरीरमा आगो लगाएर मर्न तयार भएका सुरजको एक महिनापछि विवाह हुँदैछ। विवाहको मिति तय भइसकेको छ। घरपरिवारले विहेका लागि चाहिने आवश्यक सरसामानदेखि बाजागाजा, टेन्टमात्रै होइन खानाको अर्डर गरिसकेका छन्। भारतीय कन्यासँग उनको विवाह हुन थालेको छ।
विहेको मिति पक्का गरेर साइत नजिकिँदै जादा सुरज तनावमा पर्दै गएका थिए। जानकारहरुका अनुसार, सुरजको एक विवाहित महिलासँग प्रेम चक्कर छ। ती महिलासँगको साथ छुटाउन सुरजका घरपरिवार, साथीदेखि छिमेकीसम्म लागिरहेका छन्। तर, सुरज भने एकोहोरिएका छन्।
प्रत्यक्षदर्शीका अनुसार, बिहीबार अपरान्ह ती महिला सुरजको पसल आसपासमा हिँडिरहेकी थिइन्। सुरज उसलाई हेर्दै थिए। यी महिलाको विषयलाई लिएर सुरजको केही दिनदेखि घरमा खटपट परिरहेको थियो। ‘बिहे हुन थालेको छ, अब त सुध्री’ धेरैले भनेका थिए, सुरजलाई।
सुरजलाई एक रात स्थानीय भेरी अञ्चल अस्पताल, नेपालगञ्जमा उपचार गरेर थप उपचारका लागि भारतको लखनऊ लगिएको छ। भेरीले थप उपचारका लागि अन्यत्र लैजान भनेको थियो। चिकित्सकका अनुसार, सुरजको ३० प्रतिशत हाराहारीमा शरीर जलेको छ। छाती, घाँटी, हात र तिघ्रा जलेका छन्। उनी खतरामुक्त रहेका छन्।
बाँकेमा वर्षेनी सयभन्दा बढीले आत्महत्या गर्छन्। ११ वर्षदेखि ७८ वर्षका बृद्धले आत्महत्या गरेका छन्। प्रहरी तथ्यांक अनुसार, आत्महत्या गर्नेमा धेरैजसो युवा अवस्थाका छन्। आत्महत्या गर्नुको प्रमुख कारणमा प्रेम चक्कर नै हो। चार दिनअघि मात्रै एक युवतीले प्रेमविवाह गरेको ६ महिनामै आत्महत्या गरेकी थिइन् प्रेम चक्करमा शरीरमा आगो नै लगाउने घटना भने बिरलै हुने गरेका छन्।