
युभेन्टस इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा फियोरेन्टिनालाई २–० ले हराउँदै साबिक विजेता युभेन्टस शीर्ष स्थानमा उक्लिएको हो ।
यो खेल युभेन्टसको जित भन्दा पनि रेफ्रीको भिडियो ऐसिस्टेन्ट रेफ्री (भिएआर) प्रविधि प्रयोग र त्यसपछिको निर्णयका कारण चर्चित बन्यो । रेफ्री मार्को गुइदाले खेलको १८ औँ मिनेटमा युभेन्टसका जर्जिओ चिलिनीको ह्याण्डबलका लागि फियोरेन्टिलाई पेनाल्टी प्रदान गरे ।
तर भिएआरको प्रयोग गरेर तीन मिनेटपछि पेनाल्टीको निर्णय फिर्ता लिए । फियोरेन्टिनाले पेनाल्टी पाएन तर अफसाइड देखिएकाले युभेन्टसले फ्रि–किक पायो ।
पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा युभेन्टसका लागि दोस्रो हाफमा फेडेरिको बर्नार्देस्कीले ५६ र गोन्जालो हेगुइनले ८६ औँ मिनेटमा गोल गरे ।
जितपछि २४ खेलबाट ६२ अंक जोडेको युभेन्टस नापोलीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको नापोलीको ६० अंक छ । ३१ अंकसहित फियोरेन्टिना ११ औँ स्थानमा छ ।