
दुई कोरियाका उच्च नेताबिच महत्वपूर्ण वार्ता भएको छ । दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ–इन र उत्तर कोरियाका नेता किम जोङ–उनकी बहिनी किम यो–जोङबिच सिओलमा भेटवार्ता भएको हो ।
उत्तर कोरियाका नेता किमलाई सत्ता सञ्चालनमा सहयोग गर्दै आएकी किम यो–जोङ विन्टर ओलम्पिक (शीतकालीन) ओलम्पिकका लागि दक्षिण कोरिया गएकी थिइन् ।
त्यहि क्रममा उनले दक्षिण कोरियाका राष्ट्रपति मुनसँग सिओलमा रहेको राष्ट्रपति भवनमा भेट गरेकी हुन् । भेटमा उत्तर कोरियाका संवैधानिक प्रमुख किम योङ–नाम पनि सहभागी थिए ।
सन् १९५० को दशकमा भएको कोरिया युद्धपछि दुई कोरियाबिच भएको यो अहिलेसम्मकै उच्चस्तरीय वार्ता हो । भेटको क्रममा किमकी बहिनीले दक्षिण कोरियाका राष्ट्रपति मुनलाई उत्तर कोरिया भ्रमणको निम्तो दिएकी छन् ।