
यो चलिरहेको पश्चिमा ‘क्यालेण्डर’ अनुसार फेब्रुअरी २०१८ को महिनाभरि ‘फूलमून’ हेर्न पाइन्न।
जस्तो कि तपाईँलाई थाहा छ, प्रत्येक २९.५३ दिनमा पृथ्वीबाट ‘फूलमून’ देख्न सकिन्छ, मोटोमोटी भनौँ प्रत्येक महिनामा एकपटक ‘फूलमून’ हुन्छ। तर यसपटकको फेबुअरी महिनामा यो खगोलीय घटना हुन्न, यसमा कुनै रहस्यमयी अज्ञात कारण छैन। यो जम्माजम्मी हाम्रा ‘क्यालेण्डर’को त्रुटि हो।
अब गर्ने के, पृथ्वीलाई सूर्यको परिक्रमा गर्न समय नै ३६५:१/४ दिन लाग्छ। हामीले गणना गर्न सक्छौं जम्मा ३६५ दिन। यो १/४ दिनको समयलाई प्रत्येक चौथो वर्षमा समायोजन गरी मिलाइन्छ। तीन वर्षसम्म फेबुअरीलाई २८ दिनमा सीमित गरेर चौथो वर्ष २९ दिनमा तन्काएर ‘पृथ्वीको सूर्यलाई प्रदक्षिणा गर्ने’ हिसाबकिताब मिलान गरिन्छ।
यस वर्ष २८ दिनको फेबुअरी महिनामा ‘पूर्णचन्द्र’ नदेखिने जुन संयोग हुन गइरहेको छ, त्यसको कारण यति नै हो, गएको पूर्णिमा जसलाई सुपर ब्ल्यु ब्लड फूलमून’ भनियो, जनवरी महिनाको अन्तिम दिन ३१ जनवरीमा भएको थियो। अर्को हुने ‘फूलमुन’ २९.५३ दिन पछि अर्थात मार्च दुईमा हुनेछ।
के हो ब्ल्यूमून?
३१ जनवरीमा भएको पूर्णिमाभन्दा पहिलाको पूर्णिमा पनि जनवरी महिनाकै २ तारिखमा परेको थियो। यसरी एउटै अंग्रेजी महिनामा पर्ने दुईटा पूर्णिमा मध्येको दोश्रो पूर्णिमालाई पश्चिमा शैलीमा ‘ब्ल्यूमून’ भन्ने गरिन्छ। ‘वन्स इन अ ब्ल्यूमून’ भन्ने उखान शायद यसै कारणले प्रचलनमा आएको होला।
कैँयन मित्रहरुले सोधे, ‘के ३१ जनवरीको साँझ देखिने चन्द्रमा ‘ब्ल्यू’ हुन्छ?
मैले सबैलाई हाँसेर जवाफ फर्काएँ र ‘ब्ल्यूमून’ को अर्थ बुझाए। तर एउटा अर्को जानकारी यहाँनिर प्रस्तुत गर्न आवश्यक हुन्छ। एक महिनामा हुने दोश्रो पूर्णिमालाई ‘ब्ल्युमून’ भन्ने चलन पछि थपियो। पहिलाको चलनमा, पश्चिमा पद्धत्ति अनुसार एक वर्षमा चारवटा ऋतु हुन्छन्। प्रत्येक ऋतु तीन–तीन महिनामा बाँडिएको छ। यस हिसाबले प्रत्येक ऋतुमा तीन पटक पूर्णिमा पर्ने गर्छ र यस हिसाबले वर्षमा १२ वटा पूर्णिमा हुन्छन्। तर कुनै वर्ष (वर्ष गणना १ जनवरी देखि ३१ डिसेम्वर) १३ वटा पूर्णिमा पर्न जान्छन्। जस्तो कि चलिरहेको वर्ष २०१८ मा १३ वटा पूर्णिमा हुनेछन्।
हिसाब लगाएर नै हेरौँ: पहिलो पूर्णिमा जनवरी २ (पुस १७), दोस्रो जनवरी ३१ (माघ १७), तेस्रो मार्च १ (फागुन १८), चौथो मार्च ३१ (चैत्र १७), पाँचौ अप्रिल ३० (बैशाख १७), छैठौं मई २९ (जेष्ठ १५), सातौ जुन २८ (आषाढ १४), आठौ जुलाई २७ (श्रावण ११), नवौ अगष्ट २६ (भदौ १०), दशौ सेप्टेम्बर २५ (आश्विन ९), एघारौं अक्टुबर २४ (कार्तिक ७), बाह्रौं नोभेम्वर २३ (मंसिर ७) र तेह्रौ डिसेम्बर २२ (पुष ७)।
पश्चिमा मान्यतामा जुन ऋतुमा यो बढेको एउटा पूर्णिमा पर्छ, जुन ऋतुमा चार वटा पूर्णिमा पर्छन्, यी चार पूर्णिमामध्येको तेश्रो पूर्णिमालाई ‘सीजनल ब्ल्यूमून’ भन्ने गरिन्थ्यो। ‘सीजनल ब्ल्यूमून’ नासाको अनुसार प्रत्येक २.५ वर्ष भित्र हुने गर्छ। तर अब आएर एउटै महिनामा पर्ने दोश्रो पूर्णिमालाई पनि ‘ब्ल्यूमून’ भन्ने चलन चल्तीमा प्रचलित भइसकेको छ।
एउटा रमाइलो प्रसङ्ग के तपाईँ भन्न सक्नु हुन्छ कुन अंग्रेजी महिनामा ‘ब्ल्यूमून’ हुन सक्दैन? ‘ब्ल्यूमून’ मा चन्द्रमा ‘ब्ल्यू’ देखिने भने होइन। भर्खरै गएको ३१ जनवरीका ‘ब्ल्यूमून’ सीजनल ‘ब्ल्यूमून’ नभएर ‘मन्थली ‘ब्ल्यूमून’ थियो। मार्च ३१ मा हुने ‘ब्ल्यूमून’ पनि ‘मन्थली ‘ब्ल्यूमून’ नै हुनेछ।
‘सिजनल ब्ल्युमुन’ हेर्नलाई भने तपाइले मार्च १८ सन् २०१९ सम्म पख्रिनु पर्ने हुन्छ। त्यसो त सन् २०१६ को मई २१ शनिबार पनि ‘सीजनल ‘ब्ल्यूमून’ नै थियो।
नासाकै अनुसार कुनै प्रकारको पनि पूर्णिमामा चन्द्रमाको रंग बदलिन्न किनकी चन्द्रमाको भौतिक अवस्थामा परिवर्तन हुन्न। फरक रंग देखिनको कारण चन्द्रमा र पृथ्वी बीचको बायुमण्डलमा हुने परिवर्तनका कारण मात्र हुन्छ।
सुपरफूलमून?
३१ जनवरीको पूर्णिमालाई ‘सुपर फूलमून’ पनि भनियो। जस्तो कि हामीलाई थाहा छ, चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छ तर पृथ्वी र चन्द्रमा दुवै झण्डै गोलो भए पनि पूर्णरुपेण गोलो छैनन्। आफ्नो परिधिमा गतिमान कुनै पिण्ड पुरै गोलो हुन सक्दैनन्। यस्तो हुनुको पछाडि कारण ‘सेन्ट्रीफ्युगल फोर्स’ हुन्छ। ‘सेन्ट्रीफ्युगल फोर्स’ बारे चर्चा अर्को लेखमा गरौँला।
चन्द्रमाले गर्ने पृथ्वीको परिक्रमापथ गोलो नभएर दीर्घवृत्तीय वा अण्डाकार हुन्छ। यसकारण पृथ्वीको एउटा परिक्रमा पूरा गर्दा चन्द्रमा दुई पटक पृथ्वीको नजिक र दुई पटक टाढा हुने गर्छ। चन्द्रमा र पृथ्वी बीचको सरदर दुरी ३ लाख चौरासी हजार पाँच सय किमी छ। तर परिक्रमाको अवधिमा पृथ्वीको नजिक आउँदा यो दुरी घटेर ३ लाख ९६ हजार ३ सय ५५ कि.मि. सम्म झर्छ यसरी चन्द्रमा नजिक आउँदाको स्थितिलाई ल्याटिन भाषामा ‘पेरिगीमुन’ भनिन्छ। यसविपरित पृथ्वीबाट चन्द्रमा टाढा हुँदा ४ लाख ६ हजार ६ सय २५ कि.मी. दुरी सम्म पुग्छ। यसलाई ‘एपोगीमुन’ भनिन्छ।
हामी जसलाई ‘सुपरफुलमून’ भन्छौं, त्यो चन्द्रमाको पृथ्वीको नजिक रहेको अवस्था ‘पेरिगीमून’ हो। आजभोलि हामी जसलाई ‘सुरपरफुलमून’ भन्छौं, ३९ वर्ष पहिलासम्म मनुष्यतासँग यो शब्द थिएन। सन् १९७९ भन्दा पहिला चन्द्रमाको यस स्थितिलाई ‘पेरिगिफूलमुन’ नै भनिथ्यो। १९७९ मा खगोलविद् रिचर्ड नोल्लेले ‘पेरिगीफूलमून’ लाई ‘सुपरफूलमुन’ नामाकरण गरेका थिए।
चर्चा बढी ३१ जनवरी भएको ‘सुपरफूलमून’ को भयो। यसको कारण ‘सुपरब्ल्यु–ब्लडमुन’ तीन वटा परिस्थिति एक साथ भएको हुनाले हो। अन्यथा अहिलेसम्म शताब्दीको सबैभन्दा ठूलो ‘सुपरफूलमुन’ २०१६ को नोभेम्बर १४ मा भएको थियो। यो दिन चन्द्रमा र पृथ्वीको दुरी घटेर ३ लाख ५६ हजार ५सय ९ कि.मी.मा झरेको थियो। ३१ जनवरीमा यो दुरी ३ लाख ६० हजार १ सय ९९ किमी थियो। यसको तुलनामा २ जनवरीको ‘सुपरफूलमुन’ ३ लाख ५६ हजार ५ सय ६५ कि.मी. मात्रै थियो। यो शताब्दीमा चन्द्रमा र पृथ्वीको सबैभन्दा छोटो दुरी ६ डिसेम्बर २०५२ को ‘सुपरफूलमुन’ हुँदा जम्मा ३ लाख ५६ हजार ४ सय २९ कि.मी हुनेछ।
प्रत्येक वर्ष ३–५ ‘सुपरफूलमुन’ हुने गर्छन्। वर्ष २०१८ मा ३ वटा मात्र हुनेछन्, जसमा दुइटा जनवरी महिना मै भए। अब हुने ‘सुपरफूलमुन’ आउने २२ डिसेम्बरमा मात्र हुनेछ। त्यसपछि भने लगालग २०१९ को जनवरी २१, फेबु्रअरी १९ र मार्च २१ मा ‘सुपरफूलमुन’ हुनेछ।
‘सुपरफूलमुन’ माइक्रोमूनको तुलनामा १२.५ देखि १४.१ प्रतिशत ठूलो र सामान्य ‘फूलमून’को तुलनामा ५.९ देखि ६.९ प्रतिशत ठूलो देखिने गर्छ। यसै गरी ‘सुपरफूलमून’ माइक्रोमूनको अपेक्षा ३० प्रतिशत बढी चम्किलो र सामान्य फूलमूनको अपेक्षा १६ प्रतिशतसम्म बढी चम्किलो हुने गर्छ।
ब्लडमुन
खग्रास चन्द्रगहणलाई ‘ब्लडमून’ भन्ने गरिन्छ। चन्द्रमा र सुर्यको बीचमा पृथ्वी आइदिनाले सूर्यको प्रकाश चन्द्रमासम्म पुग्न रोकिन्छ। चन्द्रमासँग प्रकाशको आफ्नो कुनै श्रोत छैन, यो सूर्यले नै प्रकाशित हुन्छ। चन्द्रमाको सतहबाट सूर्यको प्रकाश पृथ्वीमा आउँदा चन्द्रमा उज्यालो देखिन्छ। अब चन्द्रमा र सूर्यको बीचमा पृथ्वी आई दिनाले सूर्यबाट सोझै प्रकाश नपाएर चन्द्रमा पृथ्वीबाट देखिन्न। यही नै चन्द्रग्रहणको घटना हो। यस बेला पृथ्वीसँग ठोक्किएर फर्केको सूर्यको प्रकाशमात्र चन्द्रमामा पुग्छ। बीचमा रहेको पृथ्वीको छाया चन्द्रमामा पर्छ। छायाँका तीन भाग हुन्छन्, अम्ब्रा, पेनुम्ब्रा र अन्तुम्ब्रा।
‘अम्ब्रा’ छायाँको ‘डार्क सेन्टर पोर्शन’ हो जुन बेला चन्द्रमा पृथ्वीले बनाएको छायाको ‘अम्ब्रा’ बाट गुजरिन्छ। त्यो अवधिभरि पूर्णरुपेण छेकिन्छ र खग्रास ग्रहण हुन्छ। छायाको ‘पेनुम्ब्रा’ र ‘अन्तुम्बा’ क्षेत्रमा चन्द्रमा आउँदा पृथ्वीबाट ठोकिएर गएको सूर्यको प्रकाश चन्द्रमामा पुगेको हुन्छ। पृथ्वीसँग ठोक्किएर गएको प्रकाश ‘रेलीघ स्कैटरिग’ले छरप्रष्ट हुन जान्छ। प्रकाशमा रहेको बैजनी र रातो तरंग छुटिन्छन्। बैजनी तरंग अत्याधिक छरप्रष्ट हुन्छन् एवम् रातो तरंग कम्ती प्रभावित भएको कारण चन्द्रमासम्म पुग्छन्। यसै कारणले चन्द्रमा रातो देखिन्छ।
चन्द्रग्रहण अथवा सूर्यग्रहण हुनु खगोलीय घटना हुन्, दुवै सूर्यको प्रकाश छेकिनाले हुने गर्छन्। यसबारे प्रचलित रहेका सबै सामाजिक धार्मिक मान्यताहरुमा कुनै सत्यता छैन। यस्ता मान्यता बन्छन्। कसरी?
यस एउटा घटनाबाट बुझौँ, क्रिष्टोफर कोलम्बस यात्राको दौरान एउटा टापुमा थिए, उनलाई केही दिन त्यो टापुमा बस्नु थियो, तर त्यहाँका आदिबासीले उनलाई खाद्य सामाग्री दिन मानेनन्। उनीसँग भएको खाद्य सामाग्री सकिसकेको थियो। उनले जुक्ति निकाले र सिधासाधा, अशिक्षित आदिबासीलाई भने, ‘तिमीहरुले मलाई खाद्य सामाग्री नदिए देवता रिसाउँछन् र प्रमाणस्वरुप हेर्नु भोलिको चन्द्रमा रिसले पूरै रातो हुन्छ। भोलिपल्टको चन्द्रमा रातो भएपछि सबै आदिबासी डरले काम्दै कोलम्वससँग बिन्ती गर्न आए र क्षमा माग्दै देउताको रीस शान्त गरिदिने प्रार्थना गरे।
कोलम्वसले जहाजको क्याबिनमा पसेर आफ्नो खगोलीय नक्साबाट ग्रहण कति बेरमा हट्ने थाहा पाए र बाहिर आएर भने, ‘मैले प्रार्थना गरे केही बेरमा देउताको रीस शान्त हुन्छ।’ आदिबासीहरुले उनलाई त्यहाँ बसुन्जेल खाद्य सामाग्री उपलब्ध गराए।
ग्रहण बारे बनेका सबै मिथक अन्धविश्वास यस्तैयस्तै हुन्।
युवावस्थामा म स्वयमले अनेकौंपटक ‘रुफ्टप’ मा बसेर कहिल्यै चिया खाँदै कहिल्यै ‘वियर’ खाँदै चन्द्रग्रहण अवलोकन गरेको छु।
यसपटकको चन्द्रग्रहणमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सराहनीय कार्य गरेका छन्। ग्रहण अवधिमा धर्मनगरी वाराणसीमा रहेको रैदास मन्दिरमा पूजाअर्चना गरी मूर्तिलाई ढोग गरेर सामूहिक भोजन गरे। एउटा सन्तबाट धार्मिक अन्धविश्वासमा जनचेतना जगाउने काम निश्चय पनि प्रशंसनीय छ। तपाईँहरु पनि आगामी जुलाई महिनाको २७ तारिख रात्रि १०:५९:४७ मा हुने चन्द्रग्रहण सबै प्रकारको धार्मिक, सामाजिक अन्धविश्वासलाई त्यागेर अवलोकन गर्नुहोला।
(सन्दर्भ: एस्ट्रोपिक्सेल डट कम, अर्थस्काइ डट ओआरजी, नासा, स्पेस डट कम, एक्सप्रेस को युके, टाइम एन्ड डेट डट कम, क्युरियस. एस्ट्रो. कोरनेल.एडु, साइन्स.हाउस्टफवर्क्स.कम, ब्रक म्याक क्लुरे- अमेरिकी लेखक, विजयसिंह ठकुराय- भारतीय लेखक)
(यो लेखसँग सम्बन्धित कुनै प्रश्न वा जिज्ञासा भए कमेन्ट बक्समा वा divinitycallsyou@gmail.com मा पठाउनुहोला।)