कायरो/नयाँदिल्ली-इजिप्ट र भारत नियन्त्रित काश्मिरमा भएका छुट्टा छुट्टै सुरक्षा कारबाही र भिडन्तका क्रममा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।
इजिप्टको उत्तरी र मध्य सिनाईमा सरकारी सुरक्षाकर्मीले गरेको सुरक्षा कारबाहीमा परी १६ जनाभन्दा बढी लडाकूहरु मारिएका छन् ।
आतङ्कवादीविरुद्धको मुख्य कारबाहीका क्रममा अन्य चार जनालाई गिरफ्तार पनि गरिएको इजिप्टको सेनाले आइतबार प्रकाशित गरेको विज्ञप्तिमा जनाइएको छ।
सुरक्षाकर्मीले ११ वटा सवारी साधन, ३१ वटा मोटरसाइकल, केही विस्फोटक पदार्थ र अन्य हातहतियारसमेत नियन्त्रणमा लिएका छन् ।
त्यसैगरी भारत नियन्त्रित काश्मिरमा रहेको एउटा सैन्य कार्यालयमा शनिबार भएको आक्रमणमा परी मृत्यु हुनेहरुको संख्या आइतबार छ पुगेको छ।
लडाकूहरुले गरेको आक्रमणबाट मारिनेमध्ये पाँच जना सैनिक रहेका छन् भने एक जना सैनिकका बुवा रहेका छन्।
त्यस क्रममा चार जना लडाकू पनि मारिएको सैन्य अधिकारीले दाबी गरेको समाचारमा जनाइएको छ।
घटनामा परी कुल ११ घाइते भएकोमा चार जना सैनिक र सात जना आमनागरिक रहेका छन्।