
दाङ– फागुन ३ गते पाँच नम्बर प्रदेशका मुख्यमन्त्रीको रुपमा एमाले संसदीय दलका नेता शंकर पोख्रेलले सपथ ग्रहण गर्ने तयारी सुरु भएको छ।
पोख्रेलसँगै अन्य दुई जना मन्त्रीले सपथ लिने नेकपा माओवादीका नेता तथा प्रदेशसभा सदस्य इन्द्रजीत थारुले बताए। ‘फागुन ३ गते मुख्यमन्त्रीसहित अन्य दुई जना मन्त्रीले सपथ लिने तयारी भैरहेको छ’, उनले भने, ‘एमालेबाट मुख्यमन्त्री शंकर पोख्रेल, एमालेबाटै मन्त्रीको रुपमा बैजनाथ चौधरी र माओवादी केन्द्रवाट कुलप्रसाद केसीले मन्त्रीको रुपमा सपथ लिनुहुने छ।’
चौधरी र केसीले कुन मन्त्रालय सम्हाल्ने विषयमा अझै टुंगो लागिसकेको छैन। आइतबार प्रदेश नम्बर ५ मा सरकार गठनका लागि वाम गठबन्धनले दाबी पेश गरेका थियो।
एमाले संसदीय दलका नेता शंकर पोख्रेल र माओवादी केन्द्रका संसदीय दलका नेता कुलबहादुर केसीको हस्ताक्षरसहित प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख उमाकान्त झा समक्ष दावी पेश गरेका हुन्।
झा समक्ष पेश गरिएको दावीमा ५ नम्बर प्रदेशका एमाले संसदीय दलका नेता शंकर पोख्रेललाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरिएको छ।
प्रदेश सरकार गठनको दावी पेश गर्न एमाले उपमहासचिव विष्णु पौडेल, माओवादी नेता वर्षमान पुन अनन्त पनि प्रदेश कार्यालयमा पुगेका थिए।
८७ सदस्यीय प्रदेश नम्बर पाँचमा एमालेका ४१ र माओवादी केन्द्रका २० सहित वाम गठबन्धनको स्पष्ट बहुमत छ। चुनावअघि नै एमाले र माओवादीबीच ५ नम्बर प्रदेशमा पोख्रेललाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो। यसअनुसार पोखरेल निर्विरोध रुपमा एमाले संसदीय दलको नेता चयन भएका थिए।