
काठमाडौं – भारतीय सेनाध्यक्ष विपिन रावत सोमबार नेपाल भ्रमणमा आउँदै छन् । प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा भारतीय सेनाध्यक्ष रावत नेपालको भ्रमणमा आउन लागेका हुन् ।
नेपाल एकीकरणको २५० वर्षगाँठ मनाउने क्रममा फागुन १ गते आयोजना गरिने ‘सेना दिवस २०७४’ को कार्यक्रममा विशेष अतिथिकारुपमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् ।
नेपाली सेना र भारतीय सेनाबिचको सम्बन्ध विगतदेखि नै निकट र प्रगाढ रहिआएको छ । भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ सेनापतिको सम्मान दिने प्रचलनअनुसार नै रावतलाई २०७३ चैत १६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महाराथीको सम्मान प्रदान गर्नुभएको थियो ।
उच्च तहको सैनिक नेतृत्व वर्गको यस किसिमको भ्रमणले नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएको आपसी सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयलद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । भारतीय सेनाध्यक्ष रावत फागुन २ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।
सम्बन्धित समाचार