
दाङ– फागुन २ गते बस्ने प्रदेश सभाको बैठकले रुकुम पूर्वबाट निर्वाचित पूर्णबहादुर घर्ती मगरलाई प्रदेश ५ को सभामुख चुन्ने छ।
सभामुखको उम्मेदवार बन्ने टुंगो लागेका घर्ती पूर्वी रुकुम प्रदेश सभा क्षेत्र नं. २ मा वाम गठबन्धनका तर्फवाट विजयी बनेका हुन्।
युद्धका बेला रुकुमको जनसरकार प्रमुख भएका घर्ती भूमे गाउँपालिका वडा नं. ९ रुकुममा २०२४ असार २९ गते जन्मिएका हुन्। विरबहादुर र जयकली घर्तीका छोरा उनी २०३६ सालबाट राजनीतिमा लागेका थिए।
सामाजिक कार्य गर्ने उद्देश्यका साथ गठन भएको एक क्लबलाई नै तत्कालीन मशालको गाउँ पार्टीमा रुपान्तरण गरी उनी तत्कालीन चुनवाङ गाविसको संस्थापक पार्टी अध्यक्ष बनेका थिए। २०४८ सालमा नेकपा एकता केन्द्र जिल्ला उपसमिति रुकुमको पहिलो सम्मेलनवाट जिल्ला समितिमा निर्वाचित हुँदै एकता महाधिवेशन प्रतिनिधि बनेका उनी राजनीतिकर्मी मात्रै हैनन्, कलाकार पनि हुन्।
२०४६ सालको आन्दोलनदेखि जनयुद्धको सुरुवातमा मात्रै हैन, २०४७ देखि २०५१ सम्म सिस्ने सांस्कृतिक समूह रुकुमको संयोजक बनेर उनले सांस्कृतिक मोर्चा सम्हालेका थिए।
तत्कालीन सरकारबाट रोल्पामा रोमियो अप्रेसनको क्रममा ‘ढल्दैन त्यो बन्दुकले …….. ‘, जनयुद्धको क्रममा ‘एकै रातमा धर्ति हल्लियो……….. ‘, ‘यात्रा हाम्रो लामो छ…………..’ , ‘कस्ले भन्छ क्रान्ति यहाँ सफल हुँदैन………’ लगायत दर्जनौँ चर्चित गीतसंगीतहरुको रचना र स्वरहरु दिएका छन्।
२०५३ देखि २०५६ सम्म नेकपा माओवादी रुकुमको जिल्ला सेक्रेटरी, २०५७ मा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको केन्द्रीय सदस्य, २०५७ देखि २०५८ सम्म म्याग्दी, बाग्लुङ र रुकुमको इन्चार्ज तथा केन्द्रीय सदस्य, २०५८ देखि २०५९ सम्म भेरी कर्णाली क्षेत्र अन्तर्गत डोल्पा, जाजरकोट र सुर्खेतको इन्चार्ज तथा केन्द्रीय सदस्य, २०६२ देखि २०६४ सम्म नेकपा माओवादी रुकुम जिल्ला इन्चार्ज, २०६५ देखि २०६७ सम्म एनेकपा माओवादी मगरात राज्य सेक्रेटरी तथा केन्द्रीय सदस्य, २०६८ देखि २०७० सम्म नेकपा क्रान्तिकारी माओवादीको थारुवान राज्य इन्चार्ज तथा केन्द्रीय सदस्य, २०७१ देखि २०७२ सम्म नेकपा क्रान्तिकारी माओवादीको पश्चिम मगरात इन्चार्ज तथा पोलिटव्युरो सदस्य बनेका उनी अहिले नेकपा माओवादी केन्द्र ५ नं. प्रदेश संयोजक तथा केन्द्रीय सचिवालय सदस्य हुन्।
सम्बन्धित समाचार
५ नम्बर प्रदेशकाे सभामुखमा पूर्ण घर्तिकाे नाम सिफारिस
प्रदेश १ सभामुखमा भण्डारीको नाम आउँदा उषाकला राईको असन्तुष्टि