
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग आफ्नो कुनै तिक्तता नरहेको बताएका छन्।
प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा राप्रपाको लज्जास्पद पराजयपछि पूर्वराजा ज्ञानेन्द्रसँग थापाको दुरी बढेको कुराले चर्चा पाईरहेका बेला थापाले कुनै तिक्तता नरहेको दावी गरेका हुन्।
सोमवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा थापाले भने, ‘निर्वाचनपछिको परिणामका बारेमा पूर्वराजासँग छलफल भएको कुरा सत्य हो तर पार्टी पराजयको कुरामा कुनै मनमुटाव अथवा दुरी बढेको छैन।’
उनले पूर्वराजा ज्ञानेन्द्रसँग हिजो, आज र भोलि पनि आफ्नो र पार्टीको सम्बन्धमा कुनै फरक नआउने बताए।
‘हामीले अहिले पनि राजसंस्था सहितको लोकतन्त्र भनेका छौँ, भोलिका दिनमा पनि यही एजेन्डा जारी रहन्छ, हामी राजसंस्थालाई परिस्कृत रुपमा पुर्नस्थापन गर्ने अभियानमा रहिरहने छौँ’, थापाले भने।
त्यो भए राजसंस्था व्युताउन तपाईँको पार्टीले के गर्छ? पत्रकारको प्रश्नमा थापाले भने ,‘हामी अहिले जनताका माझ राजसंस्थाको आवश्यकता छ कि छैन भन्ने प्रश्नको जवाफ मागिरहेका छौँ, बहुसंख्यक जनता राजसंस्थाको पक्षमा रहेको पाइएको पनि छ, भोलिका दिनमा आवश्यकता अनुसार कुन अभियान चलाउने भन्ने निर्णय पार्टीले लिन्छ, आवश्यकता भए सडक आन्दोलन पनि गर्न सकिन्छ।’
थापाले वर्तमान सरकारको आयु अब केही दिन मात्रै भएको बताए। उनले अब आउने सरकारले अहिलेको सरकारले गरेका निर्णयहरु खारेज गरे आफ्नो पार्टीको कुनै आपत्ति नरहने बताए।
‘वर्तमान सरकारले आवश्यक र उचित ठानेका निर्णय गर्यो, आउने सरकारले अनुचित ठानेर खारेज गर्न पनि सक्छ, त्यसमा कुनै आपत्तिको बिषय रहँदैन,’ उनले भने।