बेनी-मंगला गाउँपालिका–१ खानीगाउँमा अचम्मको गुफा फेला परेको छ। बीस मिटर लामो सो गुफामा जनावर, पक्षी, हातहतियार, हिमशृंखला, पहाड, तालतलैया, देवीदेवताका मूर्ति, घरलगायत आकृति रहेका स्थानीयवासीले बताएका छन् ।
पहाडको फेदीमा अवस्थित गुफाको अगाडिको भाग एक मिटर अग्लो भए पनि भित्री भाग तीनदेखि चार मिटरसम्मको उचाइमा फैलिएको छ। गुफाको बारेमा जिल्लाभित्र र अन्य ठाउँमा जानकारी नभएकाले ओझेलमा परेको कुहुँका बासिन्दा एवं शिक्षक डकवबादुर रोकाले बताउनुभयो । गुफाको बारेमा प्रचारप्रचार हुन नसकेको रोकाको भनाइ छ।
स्थानीयवासी र छिमेकी वडाका विद्यालयबाट शिक्षक र विद्यार्थी गुफाको अवलोकन गर्न आउने गरेका छन्। ‘गुफाका बारेमा धरैलाई जानकारी छैन’ रोकाले भने ‘व्यवस्थित पदमार्ग निर्माण गरी प्रचारप्रसार गर्ने हो भने गुफा जिल्लाकै पर्यटकीय गन्तव्य बन्न सक्छ।’
एउटै गुफाभित्र रहेका धेरै आकर्षक कलाकृतिले कठिन पैदलयात्रा गरेर त्यहाँ पुग्दाको नरमाइलो क्षण बिर्सिएको गुफाको अवलोकन गरेर फर्कनुभएका रञ्जीत रोकाले बताए। सदरमुकाम बेनीबजारदेखि करिब तीन घण्टाको पैदलयात्रा पछि पुगिने सो गुफाको संरक्षण गर्नतर्फ सरोकारवालाको ध्यान जान सकेको छैन। पर्यटकीय सम्भावना भएर पनि भौतिक पूर्वाधार र प्रचारप्रसारको अभावमा सो गुफा ओझेलमा परेको स्थानीयवासी बताउँछन्।