
काठमाडौं-नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो गर्ने गरी सोमबार नै सहमति भएको बताएका छन्।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले भने, ‘असोज १७ गते वाम गठबन्धन घोषणा गरेकै दिन हामीले ७ बुँदे सहमति बाहिर ल्याएका थियौं, त्यो सहमतिमा पनि नेतृत्व आलोपालो चलाउने अन्तरनिहित आशय थियो, कसको नेतृत्व भन्ने कुरै हुँदैन नि, पार्टी एक भैसकेको छ, खाली घोषणा गर्न मात्रै बाँकी छ।’
विहान भएको ओली–प्रचण्डवीचको वान–टु–वान भेटवार्तामा आलोपालो नेतृत्वमा सरकार चलाउन सकिनेबारे समझदारी कायम भएको उनले बताए। उनले प्रमुख नेताद्धय ओली र प्रचण्डवीचको निर्णायक वार्तामा पनि निर्वाचन आयोगले सम्पूर्ण मतपरिणाम सार्वजनिक गरेपछि वाम गठबन्धनकै संयुक्त रुपमा सरकार बनाउनेबारे सहमति भएको बताए। रावलले संयुक्त सरकार सञ्चालनकै अवस्थामा पार्टी एकता प्रक्रियालाई पनि निरन्तरता दिनेबारे सोमबार भेटवार्तामा छलफल भएको विश्वास दिलाए।
उनले अबको एक हप्ताभित्रै एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने स्पष्ट पारे। उनले भने, ‘अबको प्रधानमन्त्री ओली नै बन्नुहुन्छ, यो पनि भन्ने विषय हो र ? जनताले त्यही भन्छन्, जनमतले त्यही भनेको छ, पत्रपत्रिकाले त्यही भनेको छ, देश र जनताले भनिसक्यो त?’
कुन नेतालाई कुन बेला कुन जिम्मेवारी दिने भन्ने कुरा समयले निर्धारण गर्ने र दुवै पार्टी एक भएकोले आलोपालो भन्ने कुरा नहुने रावलको भनाई थियो । एकता प्रक्रियाको छलफल सकारात्मक दिशातर्फ उन्मुख रहेको उल्लेख गर्दै रावलले भने,‘एकताले ठोस रुप लिनेवित्तिकै कार्यदलमार्फत सबै कुरा बाहिर ल्याउँछौं, सरकार गठन र एकता सँगसँगै अघि बढाउँछौं, एक अर्काका संवेदनशिलतालाई बुझेर अघि बढ्छौं, एकताबारे अब कुनै शंका वा भ्रम पाल्नुपर्ने जरुरी छैन।’
उनले एकताबारे अहिलेसम्म विभिन्न पाँच चरणका प्रक्रिया पूरा भैसकेको सुनाए । उनले भने,‘अहिलेसम्म हामीले एकताबारे पाँच चरणमा छलफल गरिसकेका छौं, अब नेतृत्व र नीतिमा गहन ढंगले छलफल चलिरहेको छ, एकताको विभिन्न चरणहरु त पार भैसके नि।’
त्यस्तै रावलले राष्ट्रपति, उपराष्ट्रपति लगायत महत्वपूर्ण पदमा सहमतिकै आधारमा कुन नेतालाई कुन जिम्मेवारी दिने भन्नेबारे निर्णय लिईनेपनि जानकारी दिए । उनले थपे,‘यो भागबण्डा गर्ने कुरा होईन, नेताहरुलाई जिम्मेवारी दिने कुरा हो।’
वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार काम चलाउ भएकोले उसले गरेका कतिपय निर्णयहरु आफूहरुले पूनरावलोकन गर्ने पनि उनको भनाई थियो । उनले भने, ‘यो कामचलाउ सरकारले आफ्नो अन्तिम घडीसम्म राज्यको ढुकुटी रित्याउने खेलमा लाग्नुभएको छ, राष्ट्रिय सभामा तीन जना सिफारिश गर्ने सवालमा स्वयम् कांग्रेसकै नेताहरुलाई थाहा रहेनछ, हामीसँग त झनै परामर्श गरेन, राष्ट्रिय सभाको जुन उद्देश्य थियो, त्यो अनुसार भएन, सभाको उद्देश्य विपरित नामहरु सिफारिश भएको छ, यो गलत हो, यसमा हामीलाई धेरै दुःख लागेको छ।’
त्यस्तै उनले वर्तमान सरकारले गरेका कतिपय गलत निर्णयहरु पूनरावलोकन गर्ने र निर्वाचन आचारसंहित भए खारेज गर्ने समेतको चेतावनी दिए। उनले भने,‘निर्वाचन आचारसंहिता विपरित गरिएका निर्णयहरु पूनरावलोकन गरिन्छ, अनपर्युक्त निर्णयहरु खारेज गरिन्छ।’ उनले प्रदेश सभाका प्रमुखबारे पनि त्यसको औचित्यका आधारमा पूनरावलोकन गरिने स्पष्ट पारे ।
‘प्रदेशको राजधानी त प्रदेश सभाले तोक्ने हो, हामीले भन्ने कुरा हुँदैन्।’ रावलले सरकारले भुकम्प पीडितको लागि एक लाख थप्ने निर्णय पनि गलत ढंगले गरेको आरोप लगाए । आफूले यसबारेमा सरकारका मन्त्रीहरुलाई नै सोधेको उनको भनाई थियो । उनले भने,‘कुन आधारमा ? स्रोत के हो भनेर मैले सोधेको थिएँ, तर कुनै स्पष्ट धारणा आएन् ।’ वाम गठबन्धनको मुख्य उद्देश्य भनेको अब मुलुक र जनताको समृद्धि भएकोले त्यसकै लागि आफूहरु केन्द्रित हुने उनको भनाई थियो।