जनकपुरधाम- प्रदेश नं. २ मा प्रदेशसभाको दोस्रो बैठकबाट संसदका मर्यादापालक पुरुषले जाडोयाममा क्रिम कलरको स्वेटर, सफारी सुट र महिलाले साडीचोलो तथा सुट लगाउने निर्णय गरिएको छ। प्रदेशसभाको सोमबार बसेको दोस्रो बैठकमा मर्यादापालकले दाैरासुरुवाल तथा टोपी लगाएकोमा आपत्ति जनाउदै प्रदेश सांसद सूरिता साहले दाैरा सुरुवाल लाउन नपाउने भन्दै विरोध जनाएका थिए।
माघ १५ गते अधिकृत संगमको सभाहलमा बसेको सर्वदलीय बैठकमा दाैरा सुरुवाल लगाउन नपाउने सर्वदलीय निर्णय भए पनि सोमबारको बैठकमा मर्यादापालकहरु सोही ड्रेस लगाएर पुगेका थिए।
प्रदेशसभा सदस्य सूरिता साहले भने, ‘हामीले कार्य व्यवस्था समितिको बैठकबाट दौरा सुरुवाललाई बन्देज लगाएर क्रिम कलरको सफारी सुट र महिलाले सारी लगाउने भनेका छौं र अर्को बैठकमा लागू हुनेछ भन्ने विश्वास छ।’
सहिदको फोटो राखियो, जनयुद्धका सहिदको फोटो माग
प्रदेश नं. २ को पहिलो प्रदेशसभाको बैठकमा जनआन्दोलनका शहिदहरुको फोटो राखेको तर मधेश आन्दोलनका शहिदहरुको फोटो नराखेको भन्दै नियमापत्ति जनाउदै विरोध गरेपछि दोस्रो प्रदेशसभाको बैठकमा मधेश आन्दोलनका शहिदहरुको फोटो राखिएको छ।
पहिलो प्रदेशसभाको बैठकमा राष्ट्रिय जनता पार्टी नेपाल तथा संघीय समाजवादी फोरम नेपालका सांसदहरुले मधेश आन्दोलन शहिदको फोटो राख्न माग गरेपछि सभामुखको रुलिङपछि फोटो राखिएको हो।
यसैगरी बैठक सुरु हुने वित्तिकै नेकपा माओवादी केन्द्रका नेता भरतप्रसाद साहले नियमापत्ति जनाउदै १२ वर्षे जनयुद्धका शहिदहरुको फोटो राख्न माग गरेका थिए। ततपश्चात् जेष्ठ सदस्य तथा सभामुख लगनलाल चौधरीले अर्को बैठकमा जनयुद्धका शहिदहरुको फोटो राख्न रुलिङ गरेका थिए।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































