काठमाडौं- नामिबियामा जारी आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन दुई अन्तर्गत आफ्नाे चाैथो खेलमा केन्याविरुद्ध भिडिरहेको नेपालले एक सय ७८ रनकाे लक्ष पाएकाे छ।
नेपालले १० अोभरको खेल समाप्तीमा तीन विकेट गुमाएर ३७ रन जोडेको छ। पहिलोपटक राष्ट्रिय टोलीबाट खेलेका अनिल शाह पहिलाे बलमै आउट भए। टोलीले ११ रन जोड्दा ज्ञानेन्द्र मल्ल नौ रनमा आउट भए। टोलीले १४ रन जाेड्दा दीपेन्द्रसिंह एेरी एक रनमा आउट भए। तीनवटै विकेट इमानुयल रिंगेराले लिए। उनले चार अोभरमा १७ रन खर्चिएका छन्। नेपाललाई जितका लागि ४० अाेभरमा एक सय ४१ रन आवश्यक छ। पारस खड्का १७ र शरद भेषावकर ५ रनमा खेल्दै छन्।
यसअघि केन्याले निर्धारित ५० अोभरमा ८ विकेट गुमाएर एक सय ७८ रन जोड्यो। नेपालका युवा स्पिनर सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए।
१० अोभर बलिङ गरेका सन्दीपले पाँच मेडन राख्दै २० रन खर्चिए। बसन्त रेग्मी , शरद भेषावकर र साेमपाल कामीले एक एक विकेट हात पारे । सन्दीपले बलिङ गरेका ६० बलमध्ये ५० बलमा रन दिएनन्। उनले दुई चौका दिएका थिए।
पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेकाे केन्याका सुरुका दुई विकेट सन्दीपले लिएका थिए।
केन्याले एक सय तीन रन जोड्दा बसन्तले तेस्रो विकेटका रुपमा विकेटकिपर इरफान करिमलाई ४२ रनमा अाउट गरे। त्यसपछि आफ्नाे साताैं अोभर लिएर अाएका सन्दिपले त्यस अाेभरमा दुइ विकेट लिएका थिए।
उनले ३४अाैं अोभरकाे पहिलाे दुई बलमा दुई विकेट लिएका हुन्। सन्दीपले अाफ्नाे १० अाैं तथा अन्तिम अोभरमा एक विकेट लिएर पाँच विकेट पुरा गरेका थिए।
१७ अाै अाेभरकाे अन्तिम बलमा सन्दीपले एलेक्स अोबान्डालाइ ब्यक्तिगत ४१ रनमा बाेल्ड अाउट गर्दै केन्याकाे पहिलाे विकेट साझेदारी ताेडेका थिए।
उनले १९ अाैं अाेभरमा दाेस्रो विकेट लिए। त्यसपछिका आफ्ना लगातार दुई अाेभर सन्दीपले मेडन फ्याँके ।
उनले आइतबार यूएईविरुद्ध पहिलो अोभरमै दुई विकेट लिएका थिए। त्यतिबेला लगातार बलमा उनले विकेट हात पारेका थिए।
सन्दीपले प्रतियोगिताका अाफ्ना चार खेलमा १४ विकेट लिएका छन्।
नामिबियाविरुद्ध चार विकेट लिएका सन्दिपले अोमानविरुद्ध दुई र यूएईविरुद्ध तीन विकेट लिएका थिए। पहिलो खेलमा नामिबियालाई एक विकेटले हराएको नेपालले दाेस्राे खेलमा अाेमानसँग ६ विकेटले पराजित भएकाे थियाे भने तेस्रो खेलमा यूएईलाई चार विकेटले पराजित गरेको थियो ।

भर्खरै
लोकप्रिय






































































































































































































