
धनगढी- प्रदेश नम्बर ७ को सभामुख पदमा निर्विरोध चयन भएका अर्जुनबहादुर थापाले पद तथा गोपनीयताको सपथ लिएका छन्।
प्रदेश प्रमुख मोहनराज मल्लले सोमबार बेलुकी सभामुख थापालाई प्रदेश प्रमुखको कार्यालयमा एक कार्यक्रमका बीच पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन्।
यसअघि सोमबार नै बसेको प्रदेश संसदको बैठकमा थापा निर्विरोध सभामुख चयन भएका थिए।
प्रदेश सभा सदस्य दीर्घ सोडारीको प्रस्ताव र माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्टले समर्थन गरेपछि जेष्ठ प्रदेश सभा सदस्य दिब्यश्वरी शाहले थापालाई सभामुख चयन भएको घोषणा गरेकी थिइन्।
सभामुखमा चयन भएका थापा बझाङबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका नेता हुन्।
लामो समय शिक्षण पेशा, त्यसपछि विभिन्न संघसंगठनको नेतृत्व गरिसकेका थापाले अब संविधानले दिएको अधिकार अनुसार प्रदेश नम्बर ७ को समृद्धीका लागि खटिने बताए।
प्रदेश संसदको सोमवारको बैठक, फागुन ६ गते उपसभामुखको निर्वाचनको मिति तोक्दै स्थगित भएको थियो।
मुख्यमन्त्रीको चयनमा ढिलाइ
यस्तै नेकपा एमालेले संसदीय दलको टुंगो लगाउन गरेको ढिलाइका कारण मुख्यमन्त्रीको चयनमा पनि ढिलाइ भइरहेको छ।
एमालेमा कैलालीका पार्टी अध्यक्ष तथा प्रदेश सभा सदस्य दीर्घ सोडारी, बाजुराबाट प्रदेश सभा सदस्य प्रकाश शाह र कञ्चनपुर १ बाट प्रदेश सभा सदस्य तारालामा तामाङले संसदीय दलमा दाबेवारी गरेका छन्।
एमाले कौललीका अध्यक्ष दिर्घ सोडारीले केन्द्रमा भइरहेको राजनीतिले पनि प्रदेशमा संसदीय दलको नेता चयनमा केही ढिलाइ भइरहेको बताए।
बाम गठनबन्धनले अरु प्रदेशमा पनि सरकार गठन गरिरहेका बेला, प्रदेश सचिवालय यहाँ पनि दुबै दलको पत्र कुरिरहेको छ।
फागुन २ गते एमालेले संसदीय दलको नेताको टुंगो लगाउने र त्यसै दिन माओवादी केन्द्रले दुबै संसदीय दलका नेताको हस्ताक्षर सहित मुख्यमन्त्रीका लागि पत्र पेश गर्ने बताईएको छ।
आजभोलिमा एमालेमा संसदीय दलको टुंगो लाग्ने गरी नेताहरुबीच छलफल भइरहेको माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्टले बताए।
सम्बन्धित समाचार