
दक्षिण अफ्रिकाको क्रुजर राष्ट्रिय निकुञ्जमा एक शिकारीलाई सिंहले खाएका छन् । जंगलमा शिकारका लागि गएका व्यक्तिलाई सिंहले मिलेर खाएको प्रहरीले जानकारी दिएको छ ।
सिंहले शिकारीको शरीरको अधिकांश भाग खाएको प्रहरीले जनाएको छ । बाँकी रहेको शरीरको भाग भने संकलन गरिएको प्रहरीले जनाएको छ । लिम्पोपो प्रान्तका प्रहरी मोत्शे एनगोएपेले समाचार संस्था एएफपीसँग बताएका छन्, ‘गेम पार्कमा शिकार गरिरेका बेला उसमाथि सिंहले आक्रमण गरेको हुन सक्छ ।

तस्बिर : गेट्टी इमेज
सिंहले उसको शरीरका अधिकांश भाग खाएका छन् । टाउको र केही टुक्रा मात्रै बाँकी छ ।’ मृतक शिकारीको टाउको नजिक लोड गरिएको राइफल भेटिएको दक्षिण अफ्रिकाका सञ्चारमाध्यमले जनाएका छन् ।
लिम्पोपो प्रान्तमा पछिल्लो समय सिंहको शिकार बढेको छ । अफ्रिकासहित विश्वका धेरै देशमा सिंहको शरीरका केही भाग परम्परागत औषधिका लागि प्रयोग गर्ने गरिएको छ । यसले सिंहको अवैध शिकार बढाएको हो ।
गएको वर्षको जनवरीमा लिम्पोपोमा तीनवटा भाले सिंहलाई शिकारीले मारेका थिए ।