
इंग्लिस क्लब टोटनह्यामले च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको अन्तिम १६ को पहिलो लेगमा सुरुमै पछि परेर पनि उत्कृष्ट पुनरागमन गर्दै युभेन्टसलाई बराबरीमा रोकेको छ ।
युभेन्टसको मैदानमा भएको खेलमा माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामले घरेलु टोलीलाई २–२ को बराबरीमा रोकेको हो । घरेलु टोली युभेन्टसले खेल सुरु भएको १० मिनेट भित्रमै २–० को अग्रता लिएको थियो ।
गोन्जालो हेगुइनले दोस्रो मिनेटमा नै गोल गर्दै सिरी ए क्लब युभेन्टसलाई सुरुवाति अग्रता दिलाए । नवौँ मिनेटमा पाएको पेनाल्टीमा पनि हेगुइनले गोल गर्दै क्लबको अग्रता दोब्बर पारे ।
त्यसपछि भने पोकेटिनोको टिमले गोल गर्ने पालो लियो । ३५ औँ मिनेटमा ह्यारी केनले टोटनह्यामका लागि गोल गरेपछि पहिलो हाफमा युभेन्टसको अग्रता २–१ को भयो ।
तर ७१ औँ मिनेटमा क्रिष्टियन एरिक्सनले गोल गरेपछि युभेन्टसले घरेलु मैदानमा जितको स्वाद लिन पाएन भने टोटनह्यामले हारको अमिलो सहनु परेन ।
टोटनह्याम सन् २०११ देखि युभेन्टसले खेल्दै आएको एल्लिएन्ज रंगशालमा २–० ले पछि परेर पनि खेलमा नहार्ने पहिलो इंग्लिस टिम बनेको छ ।
घरेलु मैदानमा भएका च्याम्पियन्स लिगका पछिल्ला ६ खेलमा अपराजित रहेको युभेन्टस दुई वा त्यो भन्दा बढी गोलले अघि रहेर पनि जित्न नसेको उसको यो दोस्रो खेल हो । दोस्रो लेग आउँदो मार्च ७ मा टोटनह्यामको मैदानमा हुनेछ ।