
दाङ – प्रदेश नम्बर ५ को सभामुख बुधबार चयन हुँदैछन् । समाभुखका लागि माओवादी केन्द्रका पूर्णबहादुर घर्तीको मात्रै उम्मेदवारी परेको छ ।
माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपानको प्रस्ताव र एमाले प्रमुख सचेतक भूमिश्वर ढकालको समर्थनमा उनको उम्मेदवारी दर्ता भएको हो ।
बुधबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकले घर्तीलाई निर्वाचित भएको घोषणा गर्नेछ । बैठकमा सभामुखले सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्वात पेश गर्नका लागि प्रस्तावकलाई समय दिनेछन् ।
प्रस्तावक माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपानेले ‘प्रदेश नम्बर ५ को प्रदेशसभाको सभामुखको निर्वाचनमा सदस्य श्री पूर्णबहादुर घर्तीलाई नेपालको संविधानको धारा १८२ को उपधारा १ एवम् प्रदेश नम्बरको ५ को प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि, २०७४ को दफा ६ बमोजिम प्रदेश नम्बर ५ को प्रदेशसभाको सभामुख पदमानिर्वाचित गरियोस् भनि प्रस्ताव गर्दछु’ भन्दै प्रस्ताव पेश गर्ने छन् । प्रस्तावको समर्थनमा एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले समर्थन गर्ने छन् ।
त्यसपछि बैठकको अध्यक्षता गरिरहेका जेष्ठ सदस्य वलदेव शर्मा पोखेरले प्रदेश नम्बर ५ को प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ को दफा ६ को उपदफा ३ बोमोजिम घर्तीलाई सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्ने छन् । सभामुखको शपथ बुधबार बेलुका ५ बजे हुनेछ ।