
अफ्रिकी देश गाबोनमा एक महिलाले जन्मिएको पाँच महिनापछि आफ्नी छोरीलाई अस्पतालको पञ्जाबाट मुक्त गरेकी छन् ।
अस्पतालमा उपचारको क्रममा लागेको खर्च नतिरेको भन्दै अस्ताल प्रशासनले एन्जल नाम गरेकी बालिकालाई जन्मेपछि आमालाई दिएको थिएन ।
एन्जल जन्मिएको पाँच महिनापछि उनलाई अस्पतालबाट मुक्त गराउन सफल भएकी सोनिया ओकोमेले अहिले आएर मात्रै आफ्नो सन्तानलाई धित मरुन्जेल हेनृ पाएकी छन् ।
एक निजी अस्पतालले उपचार खर्च नतिरेको भन्दै एन्जललाई उनकी आमा सोनियाबाट पर आफ्नो नियन्त्रणमा राखेको थियो । यो घटना बारेमा जानकारी बाहिर आएपछि गाबोनभर एन्जलको रिहाइका लागि अभियान चलाइएको थियो ।
अभियान अन्तर्गत ३ हजार ६ सय ३० अमेरिकी डलर जम्मा गरेर अस्पताललाई उपचार खर्च बुझाइएको थियो । यो अभियानका लागि गाबोनका राष्ट्रपति अली बोन्गोले पनि केही रकम सहयोग गरेका थिए ।
गाबोनमा रहेका बिबिसी संवाददाता चाल्र्स स्टीफन मबोनगोउका अनुसार गएको सोमबार घटनासँग जोडिएका निजी अस्पतालका निर्देशकलाई बालिका अपहरण गरेको भन्दै उजुरी दर्ता गरी उनलाई पक्राउ गरिएको थियो ।
तर एक दिनपछि आरोप फिर्ता लिइएको थियो । एन्जल पाँच महिनापछि अस्पतालबाट बाहिर निस्कन पाएकी छन् र अहिले उनी आमा सोनियाको काखमा छिन् ।
एन्जलकी आमा सोनियाले भनिन्, ‘ढिलै भए पनि आफ्नो सन्तानलाई काखमा लिन पाउँदा खुशी छु । तर मैले यसलाई आफ्नो दूध खुवाउन पाइन, यो अफसोच सधैँ रहने छ । किनकी यो पाँच महिनाको अवधिमा मेरो दूध सुक्यो ।’
समय नपुगी जन्मिएकाले एन्जललाई ३५ दिनसम्म इनक्युबेटरमा राखिएको थियो । यसैको बिल तिर्न नसक्दा एन्जलले आमा र उनीकी आमा सोनियाले छोरी देख्न पाइनन् ।