
बुटवल– प्रदेश ५ को सभामुखमा पूर्णबहादुर घर्ती निर्वाचित भएका छन्। संसद् बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपानेले पेश गरेको प्रस्तावमा एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले समर्थन गरेपछि सभामुख बलदेव शर्मा पोखरेलले निर्वाचित भएको घोषणा गरेका हुन्।
एमाले र माओवादी केन्द्रको समर्थनमा उम्मेदवार बनेका घर्तीका विरुद्धमा कुनै उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
बैठकले फागुन ६ गते उपसभामुखको निर्वाचनको मिति तोकेको छ। उपसभामुखका लागि एमालेले कृष्णा चौधरीलाई उम्मेदवार बनाउने चर्चा छ। अर्को संसद् बैठक फागुन ६ गते १ बजे बस्ने भएको छ।
सभामुखको सपथ ५ बजे
नवनिर्वाचित सभामुख पूर्णबहादुर घर्तीको सपथ बुधबार बेलुका ५ बजेलाई राखिएको छ। प्रदेश प्रमुख उमाकान्त झाले घर्तीलाई सपथ ग्रहण गराउने छन्। सपथ ग्रहण प्रदेश प्रमुखको कार्यालय दरबारमार्ग लाइनमा हुनेछ।
सबैलाई समेटेर अघि बढ्छुः घर्ती
नवनिर्वाचित सभामुख पूर्णबहादुर घर्तीले निर्वाचित भएपछि सबैलाई मिलेर अघि बढ्ने बताएका छन्। सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रदेशको विकास र समृद्धिका लागि समन्वयकारी भूमिका खेल्ने बताएका हुन्। ‘सबैलाई मिलाउने जिम्मेवारीमा छु, सबैसँग समन्वयकारी भूमिका खेल्छु’, उनले भने, ‘पाँच नम्बर प्रदेश प्राकृतिक स्रोत, साधन र सम्पदामा धनी छ, यिनै हुन् हाम्रो प्रदेशको आधार।’