
विश्व फुटबलका उत्कृष्ट स्ट्राइकर, जसले आफूलाई गएको एक दशक भन्दा लामो समयदेखि फर्ममा राख्दै आएको छ । टिम र व्यक्तिगत उपाधिमा पनि अगाडि । तर यो सिजन घरेलु लिगमा लगभग आधा खेल सकिने बेलामा पनि पुरानो लय समात्न सकेको देखिएन ।
आलोचना सुरु भयो । भने, अब बुढो भयो, उमेरले छेक्दै गयो, बोलेर मात्रै कहाँ हुन्छ, अब पुराना दिन फर्किने छैनन् । तर उनले घरेलु लिगका पछिल्ला खेलमा आफ्नो समय सकिँदै गएको बताउनेलाई राम्रो जवाफ दिए । लय समाते ।
क्रिष्टियानो रोनाल्डोले आफूलाई यस्तो हुँ है भनेर फेरि देखाए । त्यसको उदहारण च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको अन्तिम १६ को पहिलो लेगको खेल पनि बन्यो ।
सधैँ जस्तै यो सिजन पनि च्याम्पियन्स लिगमा रोनाल्डोको लयमा कुनै शंका छैन । उनी यो सिजन समूह चरणका सबै खेलमा गोल गर्ने पहिलो खेलाडी बने । उनले समूह चरणका ६ खेलमा ९ गोल गरेका गरेका थिए ।
रियल मड्रिडले जित्यो, रोनाल्डोको दुई गोल
रोनाल्डोले यस्तै लोभ लाग्दो प्रदर्शन गरे, कडा प्रतिस्पर्धी पेरिस सेन्ट–जर्मेन (पिएसजी) सँग बुधबार राति घरेलु मैदानमा भएको खेलमा उनले दुई गोल गरे । सुरुमा पछि परेको टिमलाई जित दिलाए ।
१०० क्लब, रोनाल्डो एक्लै
बुधबार राति भएको खेलमा ४५ र ८३ औँ मिनेटमा गरी दुई गोल गरेका रोनाल्डो च्याम्पियन्स लिगमा एउटै क्लबबाट १०० गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।
उनले एक क्लब, एक सय वा त्यो भन्दा बढी गोलको क्लब बनाए र त्यसको संस्थापक आफै भए । उनले ४५ औँ मिनेटमा गरेको गोल रियल मड्रिडबाट च्याम्पियन्स लिगमा उनको १०० औँ गोल थियो ।
यस्तै ८३ औँ मिनेटमा गोल गर्दै उनले त्यसलाई १०१ मा पु¥याए । समग्रमा ११६ गोल (छनौट चरण बाहेक) गरेका रोनाल्डो च्याम्पियन्स लिगका सर्वकालीन सर्वाधिक गोलकर्ता हुन् । उनले रियल मड्रिडबाट १०१ र म्यानचेस्टर युनाइटेडबाट १५ गोल गरेका छन् ।
सर्वकालीन सर्वाधिक गोलकर्ता र एउटै क्लबबाट धेरै गोल गर्ने खेलाडीको सूचिमा दोस्रो नम्बरमा रहेका बार्सिलोनाका लियोनल मेस्सीले ९७ गोल गरेका छन् । तेस्रो स्थानमा छन्, रियल मड्रिडका राउल गोन्जाल्वेज ।
उनले रियल मड्रिडबाट ६६ गोल गरेका छन् । यस्तै शाल्के र रियल मड्रिडबाट गरी ७१ गोल गरेका उनी सर्वाधिक गोलकर्ताको सूचिमा पनि तेस्रो स्थानमा छ । रोनाल्डोले यो सिजन च्याम्पियन्स लिगका सात खेलमा ११ गोल गरेका छन् ।