
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार राजीनामा दिएका छन् । प्रधानमन्त्री देउवाले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो कार्यकालमा भएका कामको उल्लेख गर्दै राजीनामाको घोषणा गरेका हुन् ।
आफ्नो नेतृत्वको सरकारले प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन सफल गराएको र यसले संविधान कार्यान्वयन भएको उनले बताए ।
तेस्रो चरणको स्थानीय तहको चुनाव तथा प्रदेशसभा, प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचन शान्तिपूर्ण रुपमा गर्नु आफ्नो उपलब्धि रहेको उनले बताए ।
आफ्नो सरकारले गरेका राम्रा कामको अब बन्ने नयाँ सरकारले निरन्तरता दिनेमा आफू आशावादी रहेको उनले बताए । मन्त्री परिषद बैठकपछि देउवाले सम्बोधन गरेर राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर : बर्षा शाह/देश सञ्चार
निर्वाचन आयोगले बुधबार प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक तर्फ निर्वाचित सदस्याको नामावलीसहित प्रतिनिधिसभा निर्वाचनको पूर्व प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । यो प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएकाले देउवाले राजीनामा दिएका हुन् ।
सम्बोधन लगत्तै देउवा आफ्नो राजीनामा सम्बन्धी पत्र राष्ट्रपतिलाई बुझाउन शीतल निवास गएका छन् ।
देउवा गएको जेठ २३ गते नेपालको ४० औँ प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । गणतन्त्र नेपालका नवौँ प्रधानमन्त्री बनेका देउवाको यो प्रधानमन्त्रीका रुपमा चौथो कार्यकाल हो । देउवाले राजीनामा दिएपछि अब वाम गठबन्धनको नेतृत्वमा सरकार बन्नेछ ।